बागलुङको गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

बागलुङको गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

काठमाडौं: बागलुङ जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ।

बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ।

नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ। गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो।

नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारी समेत खटाएको थियो।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेर प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।

नगरप्रमुख गैरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्लास्तरीय बाल कल्याण समितिले नगरपालिकाका विभिन्न वडाको अनुगमन गरिसकेको छ। नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडास्तरमा बाल सञ्जाल गठन, विद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक सङ्घसंस्थालाई बालमैत्री बनाइसकेको छ।

 नगरपालिकाले यसका लागि हालसम्म रु दुई करोड ५० लाख रकम खर्च गरिसकेको छ।

जिल्लास्तरीय समितिले निर्णयपश्चात गण्डकी प्रदेशस्तरीय समितिले अनुमोदनपश्चात बालमैत्री वडा घोषणा हुने छ। बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले पठाएको ११ वटै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन गरिसकेको र २२ सामान्य बुँदामा सुझाव पेस गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए। 

२ फागुन, २०७९, ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।