सतर्कता केन्द्रको छानबिनमा रहेका डा. गौरवको ट्रमामा म्याद थपियो, राख्नै नमिल्ने तहमा सात वर्षदेखि काम गर्दै

सतर्कता केन्द्रको छानबिनमा रहेका डा. गौरवको ट्रमामा म्याद थपियो, राख्नै नमिल्ने तहमा सात वर्षदेखि काम गर्दै

काठमाडौं : नियम विपरीत डा. गौरवराज ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा म्याद थपिएको छ। अर्थमन्त्री विष्णु पौडेलका ज्वाईँसमेत रहेका उनको करार अवधि नै अवैध भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले माघ १९ गते नीति विपरीत ढकालको म्याद थपेको हो।

प्रतिष्ठानले माघ २० गते नै डा. ढकाललाई करार म्याद थपको पत्र दिएको छ, जसमा प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक प्रमिला देवानको हस्ताक्षर छ।

प्रतिष्ठानले डा. ढकालको करार म्याद थपेको पत्रमा ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागमा अर्थोपेडिक सर्जन (नवौं तह) पदमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम ४० उपनियम (२) बमोजिम २०७९-१०-०३ देखि मिति २०८० असार मसान्तसम्मका लागि करार सेवामा म्याद थप गरिएको' उल्लेख छ।

प्रतिष्ठान नियमावलीको नियम ‘४०’ को उपनियम ‘२’ मा ‘करारमा नियुक्त व्यक्तिको करारको म्याद उपकुलपति वा उपकुलपतिले तोकेको पदाधिकारीले थप गर्न सक्ने’ व्यवस्था छ। तर, प्रतिष्ठानको निवयमवली अनुसार नवौं तहको दरबन्दी नै छैन। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. देवनारायण (डिएन) साहले भने दरबन्दी नै नरहेको पदमा डा. ढकालको करार म्याद थप गरे।

डा. ढकालको करार म्याद थपकै विषयको जिज्ञासामा प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक देवानले डा. ढकाललाई नियमसंगत नै नियुक्त गरेर करार म्याद थप गरिएको दाबी गरिन्।

प्रतिष्ठानमा चिकित्सकको हकमा आठौं तहभन्दा माथिको तहमा नियुक्त गर्ने व्यवस्था नै देखिँदैन। तर,  डा. ढकालको  नवौं तहमा नियुक्त भएर करार म्याद थपिँदै आएको आएको देखिन्छ। नियमावलीको नियम ‘४१’ मा पद नभई कुनै पनि व्यक्तिलाई सेवामा नियुक्त गर्न नहुने व्यवस्था छ।

‘पद नभई कुनै पनि व्यक्तिलाई सेवामा नियुक्त गर्नुहुँदैन’, प्रतिष्ठान नियमालीको नियम ‘४१’ मा भनिएको छ, ‘त्यसरी नियुक्त गरेको पाइएमा त्यस्तो कर्मचारीले सेवामा रहँदा पाएको तलबभत्ता लगायतका अन्य सुविधा नियुक्त गर्ने अधिकारीबाट असुल उपर गरिनेछ।’

त्यति मात्रै हैन, प्रतिष्ठानको नियमावलीको नियम ‘४०’ को उपनियम ‘२’ मा ‘...कर्मचारीलाई बढीमा एक वर्षसम्मको लागि मात्र नियुक्त गर्न सकिने’ व्यवस्था छ। डा. ढकालको करार म्याद थपिँदै आएको देखिन्छ।

डा. ढकाल २०७२ मा प्रतिष्ठान अन्तर्गतको नवौं तहमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसियट प्रोफेसरका रूपमा करार नियुक्त भएर निरन्तर करार म्याद थपिँदै आएको छ। पुष ३० गते करार म्याद सकिएपछि उनले करार म्याद थपका लागि प्रतिष्ठानका उपकुलपति समक्ष निवेदन दिएका थिए।

उकेरालाई प्राप्त तथ्यअनुसार डा. ढकालले उपकुलपतिको कार्यालयमा दिएको निवेदन माघ ३ गते दर्ता भएको थियो। उपकुलपति डा. साहले सिधै सो निवेदनमा तोक लगाएर प्रशासनमा पठाएको र उपकुलपतिस्तरीय निर्णयबाट डा. ढकालको करार म्याद थपिएको देखिन्छ। ६ महिनाअघि पनि करार म्याद सकिएपछि करार म्याद थपका लागि डा. ढकालले असार २७ मा प्रतिष्ठानका उपकुलपति समक्ष निवेदन दिएका थिए। त्यसपछि उपकुलपति डा. साहले उनको करार म्याद थपेका हुन्।

ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत पर्छ। त्यसैले सामान्यतया ट्रमा सेन्टरका प्रमुखले चिकित्सकको करार म्याद थपका लागि प्रतिष्ठानमा सिफारिस गर्नुपर्ने हुन्छ।

अस्पतालमा चिकित्सक तथा कर्मचारी आवश्यक पर्ने वा नपर्नेबारे ट्रमा सेन्टरका प्रमुखले निर्णय गरेर सोहीअनुसार करार म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा प्रतिष्ठानमा सिफारिस गर्नुपर्ने हुन्छ। सोही सिफारिसको आधारमा प्रतिष्ठानले निर्णय गर्नुपर्ने हो।

डा. ढकालको नियुक्तिबारे ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीसँग सम्पर्क गर्दा आफू उपत्यका बाहिर भएको जानकारी दिए।

डा. ढकालको करार म्याद थपकै विषयको जिज्ञासामा प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक देवानले डा. ढकाललाई नियमसंगत नै नियुक्त गरेर करार म्याद थप गरिएको दाबी गरिन्।

‘हामीले (नियुक्ति र म्याद थप) गरेको नियम संगत नै छ,’ उकेरासँग कुरा गर्दै रजिष्ट्रार देवानले भनिन्।

नियमावलीमा कुनै खास काम गर्नका लागि आवश्यक योग्यताप्राप्त विशेषज्ञ नभएमा वा कम भएको खण्डमा करारमा नियुक्त गर्नसक्ने प्रावधान छ। रजिष्ट्रार देवान भने संस्थामा आवश्यक भएकाले नै डा. ढकालको करार म्याद थप गरेको दाबी गर्छिन्।

‘उस(डा. ढकाल)को आफ्नो काम कर्तव्य उसको यो संस्थालाई नै आवश्वश्यक छ,’ रजिष्ट्रार देवानले भनिन्।

राजनीतिक प्रभावको बलमा करार म्याद थप्दै आएका अर्थमन्त्री पौडेलका ज्वाइँ डा. गौरवमाथि सतर्कताले थाल्यो छानबिन

नियम विपरीत म्याद थप गर्दै ट्रमा सेन्टरमा बसेका डा. ढकालबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन शुरू गरेको थियो। केन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई माघ ६ गते पत्र लेख्दै तीन दिनभित्र कागजातसहित प्रतिक्रिया पठाउन अनुरोध गरेको थियो।

सतर्कता केन्द्रले ट्रमा सेन्टरमा कार्यरत डा. ढकाललाई गैह्रकानूनी रूपमा अस्पताल अन्तर्गतको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागमा कामकाज गर्ने गरी २०७३-८-१७ देखि हालसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली–२०६५ को नियम ४० (२) तथा ४१ ले तोकेको प्रावधान विपरीत दरबन्दी नरहेको अवस्थामा समेत नियुक्त गरी राख्नुको कारण सोधेको थियो।

सतर्कता केन्द्रले प्रतिष्ठानलाई पठाएको पत्रमा डा. ढकाललाई लामो समयसम्म करारमा नियुक्त गरिराख्नुको कारणसहित ऐन, नियमको व्यवस्थासहित प्रतिक्रिया र सोसँग सम्बन्धित कागजात तीन दिनभित्र उपलब्ध गराउनसमेत निर्देशन दिइसकेको छ।

२७ माघ, २०७९, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।