कृषि, मझौला उद्योग र पर्यटनमा बैङ्क र वित्तीय संस्थाको लगानी ५ खर्ब, ६३ अर्ब ९५ करोड

कृषि, मझौला उद्योग र पर्यटनमा बैङ्क र वित्तीय संस्थाको लगानी ५ खर्ब, ६३ अर्ब ९५ करोड

काठमाडौं : नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले कृषिमा १३ प्रतिशत लगानी गरेको उल्लेख गरेको छ।

राष्ट्र बैङ्कको नीतिमा वाणिज्य बैङ्कहरूले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु घरेलु र साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने उल्लेख छ।

तर सो प्रावधान अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले कृषि तथा मझौला उद्ध्योगमा लगानी नै नगर्ने गरेको आरोप लाग्ने गरेको छ। अर्थ वार्षिक प्रतिवेदनमा भने वाणिज्य बैङ्कहरूले गत पुस मसान्तमा कृषि क्षेत्रमा १३ प्रतिशत अर्थात् कूल ५ खर्ब ४३ अर्ब ४७ करोड कर्जा लगानी गरेको राष्ट्र बैङ्कले जनाएको छ।

ऊर्जा क्षेत्रमा ६.३ प्रतिशत अर्थात् २ खर्ब ६२ अर्ब ५५ करोड कर्जा लगानी भएको देखिन्छ। लघु घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा नौ दशमलव पाँच प्रतिशत अर्थात् ३ खर्ब ९६ अर्ब ९१ करोड कर्जा लगानी रहेको छ।

विकास बैङ्कहरूले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यम-व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। गत पुस मसान्तसम्ममा ती क्षेत्रहरूमा औसत २६.६ प्रतिशत अर्थात् १ खर्ब १५ अर्ब ७५ करोड बराबर कर्जा लगानी भएको प्रतिवेदनमा देखिन्छ।

वित्त कम्पनीहरूले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम-व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। गत पुस मसान्तसम्ममा ती क्षेत्रहरूमा औसत २२.४ प्रतिशत अर्थात् १९ अर्ब ३३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ।

बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो कूल कर्जा सापटको न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। प्रतिवेदन अनुसार गत पुस मसान्तसम्ममा वाणिज्य बैङ्कहरूले ६.७ प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब १७ करोड बराबर कर्जा प्रवाह गरेका छन्।

विकास बैङ्कहरूले ११.१ प्रतिशत अर्थात् ४८ अर्ब २३ करोड र वित्त कम्पनीहरूको ७.३ प्रतिशत अर्थात् ६ अर्ब २९ करोड कर्जा विपन्न वर्गमा लगानीमा गरेको प्रतिवेदनमा देखिन्छ।

२७ माघ, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।