रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

काठमाडौं: रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ। रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ।

यसका लागि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगरको नेतृत्त्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्ती मगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो।

सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दावी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरिएको छ।

समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्ती मगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन्।

समितिले विवादित क्षेत्रको अध्ययन गरी छिटोभन्दा छिटो विवाद समाधान गर्ने रोल्पा नगरपालिकाका उपप्रमुख आचार्यले जानकारी दिइन्। विवाद समाधान नहुँदा ती क्षेत्रहरू विकासमा पनि पछि पर्ने भएकाले छिटो विवाद समाधान गर्ने सीमा विवाद समाधान समितिका सदस्य समेत रहेकी उपप्रमुख आचार्यले भनिन्।

धार्मिक क्षेत्र जलजलालाई पनि जिल्लाका तीन स्थानीय तह रोल्पा नगरपालिका, सुनछहरी  र थवाङ गाउँपालिकाले आफ्नो दावी गर्दै आउँदा समय–समयमा विवाद देखिने गरेको छ।

१७ माघ, २०७९, ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।