शोकमा पर्वत: जाडो बिदा मनाउन छोरी लिएर गाउँ जाँदै थिए पौडेल, पूजाको निम्तो मानेर फर्किँदै थियो शर्मा परिवार

शोकमा पर्वत: जाडो बिदा मनाउन छोरी लिएर गाउँ जाँदै थिए पौडेल, पूजाको निम्तो मानेर फर्किँदै थियो शर्मा परिवार

पोखरा: आइतबार भएको यती एयरको ९ एन–एएनसी विमान दुर्घटनामा पर्वतका १० जनाले ज्यान गुमाएसँगै सिङ्गो जिल्ला अहिले शोकमा छ। दुर्घटनामा पर्वतका विभिन्न स्थानका चार बालकसहित १० जनाको मृत्यु भएको थियो।

त्यसमध्ये पनि एउटै परिवारका चार जनाले ज्यान गुमाएका छन्। दुई परिवारले २/२ जना सदस्य गुमाएका छन्। दुर्घटनामा परेका १० जनाकै सनाखत समेत भइसकेको छ।

कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्क घर भएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ कटुवाचैपारीका अरुण पौडेल र उनकी ११ वर्षीय छोरी प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले पौडेल र उनकी १० महिनाका छोरा रिहान पौडेलको मृत्यु भएको हो। 

रचना काम विशेषले काठमाडौं गएर छोरासँगै फर्किने क्रममा दुर्घटनामा परेकी हुन्।

त्रिभुवन पौडेल पोखरामा रहेर झण्डै साढे दुई दशकदेखि पत्रकारितासँगै राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनी पोखराबाट प्रकाशन हुने पोखरा हटलाइन दैनिकको सम्पादक समेत थिए।

उनी माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको काठमाडौंमा आयोजित पदाधिकारी बैठकमा सहभागी भएर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन्। प्रेस सेन्टर नेपालको उपाध्यक्ष समेत रहेका त्रिभुवन यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए। 

उनले काठमाण्डौं पुगेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्ने कार्यक्रम पनि बनाएका थिए। तर, आइतबार बिहान प्रधानमन्त्री दाहाल योग दिवसको कार्यक्रममा व्यस्त भएपछि उनी यतीको विमानमार्फत पोखरा फर्केका थिए।

त्यस्तै दुर्घटनामा परेका कटुवाचैपारी घर भएका अरुण पौडेले गत संसदीय निर्वाचनमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी १० वर्ष दक्षिण कोरिया बसेसँगै गत वर्ष नेपाल फर्किएपछि काठमाडौंमा परिवारसहित बस्दै आएका थिए। 

कक्षा पाँचमा पढ्ने ११ वर्षीय छोरी प्रसिद्धिको स्कुल बिदा भएपछि उनी जाडो बिदा मनाउन गाउँ जाँदै थिए। उनीसहित छोरी प्रसिद्धिको विमान दुर्घटनामा निधन भएपछि कुश्मा नगर नै अहिले शोकमा छ।

विमान दुर्घटनामा कुश्मा नगरपालिका वडा नं १ का एकै परिवारका दुई जना, वडा नं ९ का एकै परिवारका दुई जना, वडा नं १४ का एक जना र बिहादी गाउँपालिका वडा न ५ उराम पोखराका एकै परिवारका चार जना र मोदी गाउँपालिका भुक देउराली गाउँपालिका–१ भुक देउरालीका विजय गुरुङको मृत्यु भएको छ।

विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ। शर्मा परिवारका आमा, छोरा, नाती र नातिनीको निधन भएको हो।

उनीहरू यही पुस २४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न काठमाडौं गएका थिए।

अहिले बिहादी गाउँपालिकाको उराम पोखरा शोकमग्न छ।

त्यस्तै राजनीतिसँगै समाजसेवामा योगदान पुर्याउँदै आएका मोदी गाउँपालिका –१ भुक देउरालीका विजय गुरुङको पनि सो दुर्घटनामा ज्यान गएको छ। 

उनी लामोसमयदेखि पर्वतमा राजनीतिसँगै समाजसेवामा सक्रिय रहँदै आएका थिए।

हालसम्म खोजतलासका क्रममा फेला परेका ६८ मध्ये पहिचान भएका २६ शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ। 

पहिचान भएका शवहरू परिवारको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

२ माघ, २०७९, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।