गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसकै तीन आकांक्षी, खगराजलाई माओवादीकै भर

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसकै तीन आकांक्षी, खगराजलाई माओवादीकै भर

पोखरा : मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत नपाएसँगै केन्द्र र प्रदेशमा मिलिजुली सरकार बनाउनुपर्ने भएको छ।

नेताहरूबीच भागबण्डाको रस्साकस्सी चलिरहँदा केन्द्रमा प्रधानमन्त्रीसँगै प्रदेशमा मुख्यमन्त्री पनि कसलाई बनाउने भन्ने चर्चा सुरु भएको छ। केन्द्र र अन्य प्रदेशमाजस्तै गण्डकी प्रदेशमा पनि कुनै पार्टीको स्पष्ट बहुमत नआउँदा सरकार बनाउन दलहरू मिल्नुको विकल्प छैन।

प्रत्यक्ष र समानुपातिकसहित ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। यहाँ २७ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्दा २२ सिटसहित एमाले दोस्रो, तेस्रो भएको माओवादी केन्द्रको ८ सिट छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र एकीकृत समाजवादीले १ सिट पनि प्रदेशसभामा छ।

प्रदेशसभाको ठूलो दल कांग्रेसलाई सरकार बनाउन थप ४ सिट आवश्यक पर्छ। कांग्रेसलाई माओवादी केन्द्रको समर्थन भएको अवस्थामा सजिलै बहुमत पुग्ने अवस्था छ।

२२ सिट रहेको एमालेलाई सरकार बनाउन थप ९ सिट चाहिन्छ। एमालेको नेतृत्त्वमा सरकार बनाउनका लागि माओवादी र राप्रपासमेति मिल्नुको विकल्प छैन। एमाले, माओवादी र राप्रपा मिल्दा ३२ सिट पुग्छ।

निर्वाचनमा समेत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकाले प्रदेशमा आफ्नो नेतृत्त्वमा सरकार बनाउन कांग्रेसले दाबी गरिरहेको छ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई भेटेर निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै गण्डकीमा सरकारको नेतृत्त्वका लागि आ–आफ्नो पार्टीबाट संसदीय दलको नेता बन्ने दौढ सुरू भएको छ।

कांग्रेसबाट मुख्यमन्त्रीका तीन आकांक्षी
संसदीय दलको नेता नै पार्टीका तर्फबाट मुख्यमन्त्रीको दावेदार हुने भएकाले अहिले कांग्रेसमा गोरखाका सुरेन्द्रराज पाण्डे, कास्कीका बिन्दुकुमार थापा र नवलपुरका महेन्द्रध्वज जिसी संसदीय दलको नेता बन्ने दौडमा छन्।

निर्वाचनका क्रममा नै आगामी कार्यकालको मुख्यमन्त्रीको रूपमा शुक्रराज शर्मा, सुरेन्द्र पाण्डे र बिन्दुकुमार थापालाई हेरिएको थियो। तर, समानुपातिकको एक नम्बर सूचीमा नाम रहेर पनि शर्मा बाहिरिन बाध्य भए।

पार्टीबाट कुनै पनि महिला उम्मेदवार प्रत्यक्षमा विजयी नभएपछि ३३ प्रतिशत महिला समानुपातिक सूचीबाट पठाउनै पर्ने संवैधानिक व्यवस्थाका कारण उनी सांसद्को दौडबाटै बाहिरिए। मुख्यमन्त्री त परको कुरा।

शर्माको संसद यात्रा टुंगिएसँगै सशांक कोइराला निकट जिसीले अहिले आएर मुख्यमन्त्रीको दावी गरिरहेका छन्। मुख्यमन्त्रीको दावी गरिरहेका पाण्डे र थापा दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन्।

पाण्डे, पार्टी सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मुख्यमन्त्री बनाउने सहमतिमा प्रदेसभामा निर्वाचन लडेको दाबी गर्दै आएका छन्। प्रतिनिधिसभामा चुनाव लड्ने चाहना हुँदाहुँदै देउवा र दाहालबीच सहमति भएपछि प्रदेशमा झरेको उनी बताउँछन्।

माओवादीका अध्यक्ष दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखामा यसअघि भएको चुनावी सभामा पाण्डेलाई गण्डकीको मुख्यमन्त्री भन्दै भोट समेत मागेका थिए। पाण्डे यसअघि राष्ट्रिय सभामा संसदीय दलको नेतासमेत बनेका थिए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डे चुनाव जित्नासाथ मुख्यमन्त्रीका लागि ‘लबिइङ’ गर्न काठमाडौंमा नै डेरा जमाएर बसेका छन्। २७ सिट रहेको कांग्रेसबाट पाण्डेलाई सर्वसम्वत संसदीय दलको नेता बन्न भने सहज छैन।

पाण्डेलाई देउवा निकटकै अर्का मुख्यमन्त्रीका आकांक्षी विन्दुकुमार थापाले चुनौती दिएका छन्। थापाको देउवाको किचन ब्याविनेटसम्म सहज पहुँच भएकाले पाण्डेलाई मुख्यमन्त्री बन्न त्यति सहज छैन। थापा गण्डकीका बहालवाला कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीसमेत हुन्।

देउवानिकट थापाले ०७४ मा वाम गठबन्धनविरुद्ध एक्लै लड्दा पनि प्रदेश राजधानी पोखराबाट चुनाव जितेका थिए। उनले प्रदेशसभाको संसदीय उप–समितिमा बसेर प्रदेशको नाम र राजधानी टुंगो लगाउने लगायतका जिम्मेवारी समेत पूरा गरेका थिए।

त्यसैगरी, सशांकनिकट शर्मा सांसद् नभएपछि उनको स्थानमा आफू स्वभाविक दावेदार भएको दाबी जिसी गर्छन्। उनी मुख्यमन्त्रीका लागि ‘लबिइङ’ गर्न काठमाडौंमा व्यस्त छन्। जिसीले निर्वाचित सांसदमध्ये आपूm सबैभन्दा सिनियर भएकाले पनि मुख्यमन्त्रीको दाबी स्वभाविक भएको जिकिर गर्छन्।

गण्डकीमा कांग्रेसले जितेका २७ सिटमा संस्थापन पक्षका १४ र संस्थापन इतर (पौडेल, सशांक, शेखर, गगन) पक्षमा १३ जना सांसद छन्। यदि निर्वाचन भएको अवस्थामा देउवा समूहसँग एक सांसद बढि छन्। तर, मंगलबार भएको केन्द्रीय संसदीय दलको अवस्था हेर्ने हो भने पौडेल पनि देउवाको पक्षमा आइसकेका छन्।

माओवादीबाट मुख्यमन्त्रीमा चुमानको दावी 
त्यसैगरी गण्डकीको मुख्यमन्त्रीमा माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सहित ८ सिट जितेको माओवादीले आफ्नो नेतृत्त्वमा सरकार गठन हुनुपर्ने बताएको छ।

सत्ता साझेदारीका क्रममा यसअघि कांग्रेसका कृष्णचन्द नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गरेकाले अबको मुख्यमन्त्री आपूmले पाउनु स्वाभाविक भएको माओवादी दावी छ।

अघिल्लो कार्यकालमा माओवादीको संसदीय दलको नेतृत्व गरिसकेका हरिबहादुर चुमान माओवादीले मुख्यमन्त्री पाउनु पर्ने बताउँछन्। उनी गण्डकी प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

माओवादीको तर्फबाट चुमान सर्वसम्वत संसदीय दलको नेता बन्ने सम्भावना छ।

मुख्यमन्त्रीमा एमालेका अधिकारी एकल दावेदार
एमालेबाट मुख्यमन्त्रीमा खगराज अधिकारी एकल आकांक्षी देखिएका छन्।

यसअघि तीन पटकसम्म संघीय सांसद् बनेका अघिकारी यसपटक मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा झरेका हुन्। तर, यसअघि २७ सिट जितेर ठूलो दल बनेको एमाले यसपटक भने २२ सिटमा खुम्चिएको छ।

केन्द्रको सत्ता समिकरणका आधारमा प्रदेश सरकार बन्ने सम्भावना भएकाले अहिले एमाले पर्ख र हेरको अवस्थामा छ। माओवादीविना आफ्नो नेतृत्त्वमा सरकार नबन्ने र तत्काल माओवादीले एमालेलाई समर्थन गर्ने अवस्था नभएकाले पनि उनी अन्योलमा छन्।

यद्यपि कांग्रेस र एमाले मिलेको अवस्थामा भने सहजै सरकार बन्नेछ। तर, अहिले नै त्यसको सम्भावना एकदमै न्यून छ।

केन्द्रमा एमाले–माओवादी सम्बन्ध नसुध्रिएकाले प्रदेशमा पनि माओवादीले एमालेलाई समर्थन गर्ने सम्भावना कम भएकाले अधिकारी खुलेर अघि बढ्न सकेका छैनन्।

यसअघि स्वास्थ्य र गृहमन्त्री बनिसकेका खगराज एमालेका प्रदेश सांसदहरूमध्ये सबैभन्दा वरिष्ठ हुन्।

५ पुस, २०७९, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।