‘किशोरी र युवतीभन्दा अधबैंशेले तीनगुणा बढि मेकअपका सामान किन्छन्’

‘किशोरी र युवतीभन्दा अधबैंशेले तीनगुणा बढि मेकअपका सामान किन्छन्’

युवावस्थामा प्रायः सबै सुन्दर हुन्छन्। ‘बैंशमा स्याल पनि घोर्ले हुन्छ’ भन्ने त नेपाली उखानै छ।

स्याल जस्तो रूपै नभएको जनावर त बैंश लागेपछि सुन्दर हुन्छ भने मानिसको के कुरा। तर, जब उमेर ढल्कन थाल्छ तब सौन्दर्य पनि खस्कँदै जान्छ। यसरी सौन्दर्य खस्कनुका तीनवटा मूलभूत कारण छन्।

१. छालाः उमेर ढल्किएसँगै छाला चारिउन थाल्छ र अनुहारमा मिहीन रेखाहरू देखिन थाल्छन्। अनुहारमा पोतो देखिन्छ। हात गोडाका छालामा पनि चाउरी पर्न थाल्छन्।

२. कपालः उमेर बढेसँगै कपाल फुल्ने तथा पातलो हुने क्रम तीव्र हुँदै जान्छ। महिलाहरूका हकमा टाउकाको कपालको लम्बाई पनि घट्न थाल्छ।

३. शरीर को सुगठनः उमेर ढल्कनुसँगै शरीर धोलो हुँदै जान्छ। महिलाका नितम्ब, स्तन, गाला तथा हात पाखुराले आफ्नो पुष्टता गुमाउन थाल्छन्।

यसरी खस्कँदै गएको सौन्दर्यप्रति महिला पुरुष दुवै संवेदनशील भए पनि संवेदनशीलताको डिग्री महिलाको बढ्ता हुन्छ।

छाला तथा यौनरोग विशेषज्ञ डा. संगीता बराल भन्छिन्– ‘उमेर ढल्किएसँगै सौन्दर्यको गिरावटप्रति पुरुषका तुलनामा महिला बढ्ता चिन्तित हुन्छन्। युवावस्थामा पनि आफ्नो सौन्दर्यलाई बढ्ता ध्यान दिने भनेका महिला नै हुन्। महिलाले पुरुषको हैसियतलाई बढ्ता महत्त्व दिने र पुरुषले महिलाको सौन्दर्यलाई बढ्ता महत्त्व दिने हाम्रो सामाजिक परिपाटीले यस्तो भएको हो।’

मनोवैज्ञानिक डा. देशराज बहादुर कुँवर जेनेटिकल्ली नै महिलाहरू सौन्दर्यप्रति संवेदनशील भएको बताउँछन्। यही संवेदनशीलताका कारण उमेर ढल्किएसँगै शरीरमा देखिने सौन्दर्य विरोधी लक्षणहरूले महिलाहरू बढ्ता चिन्तित हुने उनको भनाइ छ।

अचम्म त के छ भने बैंशालु उमेरमा सौन्दर्य प्रशाधनका सामानहरूमा महिलाहरूले जति धेरै लगानी गरेका हुन्छन् त्यो भन्दा बढ्ता लगानी उमेर ढल्कँदै गर्दाको समयमा गरेको पाइन्छ।

सौन्दर्य सामग्रीको पसल चलाएका चाबहिलका मनुजबाबु कार्की भन्छन्, ‘मेरो पसलबाट भर्खरका केटीहरूले भन्दा अधबैंशे महिलाहरूले मेकअपका सामग्री तीनगुणा बढि किन्ने गर्छन्। यस्ता सामग्री किन्ने पुरुषहरूको संख्या भने धेरै नै न्यून छ।’

पुरुषहरूले ध्यान नदिने तर महिलाहरूले ध्यान दिने सुन्दरताका अनेक मापदण्ड पनि हाम्रो समाजमा विद्यमान छन्। महिलाहरू आफ्ना ओठ सुन्दर देखाउन चाहन्छन् र लिपस्टिक लगाउँछन्।

निधारमा लगाउने टिका तथा आँखामा गाजल तथा आईब्रोको प्रयोगमा ध्यान दिन्छन्। कानमा टप, रिङ देखि लिएर झुम्कासम्मको छानी–छानी प्रयोग गर्छन्। उनीहरूलाई नङमा नेल पोलिस लगाउनुपर्छ।

कपालमा काँटा चाहिन्छ। बाट्नुपर्यो भने रिबन र डोरी चाहिन्छ। यस्ता अनेक कुरा छन् जो महिलाका लागि अपरिहार्य तर तिनको प्रयोग पुरुषले गरेको अवस्थामा ऊ हाँसोको पात्र बन्छ।

यी अनेक कुराहरूले सानैदेखि नै पुरुषका तुलनामा महिलालाई आफ्नो सौन्दर्यप्रति सचेत हुन अभिप्रेरित गरिरहन्छन् र यो क्रम उमेर ढल्कँदै गर्दा पनि उस्तै हिसाबले अगाडि बढ्छ।

महिलाहरूको यही मनोविज्ञानलाई बुझेर विश्वका ठूला–ठूला सौन्दर्य प्रशाधनका सामग्री निर्माण गर्ने कम्पनीहरूले एन्टिएजिङ क्रीम, मसल फर्मिङ क्रीम, सनस्क्रिन क्रीम आदिको उत्पादनलाई बढाउँदै लगेका छन्।

महिलाका वस्त्र उत्पादन गर्ने उद्योगहरूले पनि स्तनलाई सुडौल देखाउने अनेक किसिमका ब्राहरूको उत्पादनमा ध्यान दिँदै आएका छन्।

पेट नझोल्लियोस् भन्नका लागि कम्मरमा लगाउने पेटीको प्रयोग पनि हुन थालेको छ। हुँदाहुँदै शहरिया महिलाहरू जिमखाना धाउने क्रम पनि बढ्दै गइरहेको छ।

कपाल कालो पार्ने क्रीम, तेल, श्याम्पू आदिको उपयोग पनि दिनानुदिन बढ्दै गइरहनु पनि उमेर ढल्कनुसँगै भएको सौन्दर्यप्रतिको संवेदनशीलता हो।

विदेशबाट आयात गरिने यस्ता सौन्दर्य सामग्रीमा मात्रै मुलुकको करीब ८३ करोड रूपैयाँ विदेशिने गरेको छ र यो वर्षेनी बढ्दै गइरहेको छ।

२७ मंसिर, २०७९, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।