महिनावारी कप प्याड भन्दा राम्रो र सस्तो हो त ?

महिनावारी कप प्याड भन्दा राम्रो र सस्तो हो त ?

नेपाल लगायत दक्षिण एसियामै पनि महिनावारीलाई लिएर मानिसहरूको फरक-फरक धारणा भेटिन्छ। अझ कतिले त यसलाई गलत अर्थमा पनि बुझ्ने गर्दछन्। तर, महिनावारी हुनु भनेको कुनै पाप होइन, योनीबाट रगत बग्ने एक मासिक प्रक्रिया हो। यसले महिलाहरूलाई परिपक्क भएको अनी आमा बन्न सक्षम भएको संकेत गरेको हो। 

युनाइटेड जर्मनीले महिनावारी के हो र यसलाई कसरी व्यवस्थापन गनुपर्छ भन्ने बारेमा अनुसन्धान समेत गरेको छ। जसमा लेखिएको छ ‘महिलाको शारीरिक बनोटकै आधारमा किशोरावस्था हुँदा महिनावारी हुनैपर्ने, कम्तिमा २० वर्षपछि मात्र महिलाको शरीर परिपक्व हुने र आमा बन्न सक्ने अवस्थामा पुग्छ।'

महिनावारी भएको बेला ५ दिनसम्म योनीबाट रक्तस्राव हुने र २८ दिन महिनावारी चक्र हुने भएकाले अंग्रेजीमा पाँचौं महिनाको २८ तारिखलाई महिनावारी दिवसका रूपमा मनाउने तय गरिएको छ। यो त भयो महिनावारीको कुरा। अहिले बजारमा महिनावारी सँगै महिनावारी कप (मिन्सुरेसन कप) को चर्चा शुरु भएको छ।

मिन्सुरेसन कप महिनावारीको समयमा महिलाले प्रयोग गर्ने टालो या प्याडको विकल्पमा प्रयोग गरिन्छ। कतिले यसलाई प्याडको विकल्पको रूपमा लिने गरेका छन्। त्यो उनिहरूले विज्ञापन गर्नकै निम्ति भनेका हुन सक्छन् । यो कप राखेपछि पनि यदि अत्याधिक रगत जाने समस्या छ भने कप राख्दा पनि प्याड राख्नु पर्दछ। यो मेरो व्यक्तिगत अनुभव हो।

प्याडलाई ६ घन्टाको अन्तरालमा परिर्वतन गरेन भने संक्रमण हुने सम्भावना बढी हुन्छ। प्याडलाई प्रयोग पछि कहाँ फाल्ने त्यसको व्यवस्थापन गाह्रो छ। तर यो कपलाई रगत बग्ने मात्रा हेरेर ८ देखि १२ घन्टाको अन्तरालमा सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ।

सबैको पुहँचमा, सबै क्षेत्रमा सेनिटरी प्याड त अझै उपलब्ध छैन। तर, पछिल्लो समय भने युवती, किशोरीहरुमा महिनावारी कप लोकप्रिय बनिरहेको छ। प्रयोग गर्न सहज, सुलभ र फेरिरहन झन्झट नहुने भएकाले पनि यो कपको प्रयोग बढेको हुन सक्छ।

महिनावारीको सुरुवाती समयमा आमाको फरियाबाट बनाइएको कपडाको प्याड (टालो) लगाइन्थ्यो। बिस्तारै सेनिटरी प्याड र अझ मिन्सुरेसन कपसम्म आइपुगिसकियो।  तर यो पूर्ण भने छैन। यो भन्दा पनि अझै सजीलो उपाय आउन पनि सक्छ। तर टालो र प्याडको विकल्पमा आएको यो कप तेत्ति असजिलो भने छैन। अझ सहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा यसको प्रयोग बढाउन सकियो भने अझै प्रभावकारी हुनसक्छ। 

महिनावारी कप सिलिकनबाट बनेको हुँदा यसले मानिसको छालालाई असर नगर्ने, एकदमै नरम हुने हुँदा योनीमा छिराउँदा समस्या नहुने, सफा गर्न सजिलो हुने, यसको प्रयोग गर्दा एलर्जी नहुने, सरसफाइमा ध्यान दिन सकियो र सुरक्षित तरिकाले प्रयोग गर्न जानियो भने सजिलो र सेनिटरी प्याड भन्दा पनि सस्तो यो कप पर्दछ। स्पेनकी ६२ वर्षीया एक महिलाले एउटै मेन्स्ट्रुअल कप बीस बर्ष सम्म प्रयोग गरिरहेको बीबीसीले उल्लेख गरेको थियो। 

कति पर्छ यो कपको मूल्य ?

मैले आठ सय रुपैयाँमा यो कप किनेकी छु। बजारहरूमा खोज्ने र सोध्ने हो भने यो कप आठ सय रुपैयाँदेखि तीन हजारसम्ममा पाइन्छ। एकैपटक धेरै पैसा तिर्नुपर्दा महँगो लागे पनि एकपटक एउटा महिनावारी कप किनेपछि कम्तिमा पाँच वर्षसम्म चलाउन मिल्छ भनिएको छ।

मैले यो कप किनेको लगभग ६ महिना बढी भइसकेको छ। तर, अहिले सम्म कपमा केही समस्या भने देखिएको छैन। यो कप विभिन्न साइज (स्मल, मिडियम र लार्ज) मा बजारमा पाइन्छ। आफ्नो उमेर अनुसार अर्थात् १९ वर्षभन्दा कम उमेर समूहका लागि स्मल साइज, १९ देखि ३५ वर्ष उमेर समूहकाले मिडियम र ३५ वर्षभन्दा माथि उमेर समूहकाले लार्ज साइज प्रयोग गर्न सकिन्छ।

यो कपलाई कसरी प्रयोग गर्ने ?

कपलाई प्रयोग गर्नुभन्दा अघि साबुनपानीले राम्ररी हात धुनुपर्छ। यो कप एकदमै नरम हुने भएकाले कपलाई ‘सी’ आकारमा दोब्राएर योनीभित्र छिराउन सकिन्छ। भित्र राखेपछि उक्त कप पाठेघरको मुखमा अड्किन्छ जसले गर्दा कप आफैं खुल्दै रगत नचुहिने गरी सिल भएर बस्छ।

सुरू-सुरूमा यो कप एकदमै अप्ठ्यारो, झन्झटिलो लाग्छ। भित्र केही अड्किएको जस्तो, हिँड्न अप्ठ्यारो भएजस्तो लाग्छ। तर यसको निरन्तर प्रयोग पछि सजीलो लाग्दै जान्छ। यसमा जम्मा भएको रगत बाथरूममा फाल्न सकिने हुँदा यो वातावरणीय हिसाबले हेर्दा पनि धेरै उपयोगी देखिन्छ। अझ अहिले त यो कपलाई कसरी प्रयोग गर्ने भन्ने बारे थुप्रै भिडियोहरू इन्टरनेटमा आइसकेका छन्। तिनको सहयोग लिएर पनि यस कपको प्रयोग गर्न सकिन्छ।

यो कपलाई कसरी सफा गर्न सकिन्छ ?

कपमा ब्लड भरिएपछि अथवा बिहान राखेको छ भने बेलुका र बेलुका राखेपछि बिहान कपको टुप्पोमा समातेर बिस्तारै बाहिर निकाल्नुपर्छ। झ्वाट्ट तान्नु हुँदैन यसो गर्दा दुख्न सक्छ। त्यसैले कपको टुप्पोमा समातेर बिस्तारै घुमाउँदै-घुमाउँदै  ताने पनि हुन्छ। आफूलाई कुन पोजिसनमा बसेर कप निकाल्न सहज हुन्छ, त्यसरी निकाल्दा झन् सजिलै निस्कन्छ।

निकालिसकेपछि त्यो भरिएको कपलाई सफा गरेर फेरि प्रयोग गर्न सकिन्छ। तर सफा गर्दा भने ध्यान दिनु पर्छ। महिनावारी समय अवधि सकिएपछि मज्जाले तातो पानीमा उक्त कपलाई ५ देखी १० मिनेटसम्म उमालेर सफा गर्नु पर्दछ। यसोगर्दा उक्त कपमा भएका किटाणु मर्छन्। उमालेर सफा गरेर सुख्खा बनाएर राखेको कप अर्को महिनावारीमा पुनः प्रयोग गर्न सकिन्छ।

यो कप लगाएको बेला पिसाब फेर्न सकिन्छ ?

पाठेघरको मुख र पिसाब फेर्ने नली फरक–फरक भएकाले यो कप प्रयोग गरिएको समयमा सजिलै पिसाब फेर्न सकिन्छ। त्यसैले महिनावारी कप लगाएको समयमा पनि पिसाब फेर्न अप्ठ्यारो हुँदैन। तर कपको पोजिसन बिगारेर प्रयोग गरेको खण्डमा भने यो कप भित्रै अड्किने जोखिम पनि हुन्छ। त्यस्तो समस्या भएमा नआत्तिकन अस्पताल जानुपर्छ।

१७ कात्तिक, २०७९, १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।