सङ्गत

सङ्गत

एउटा गाउँमा कमल नाम गरेको एउटा बालक आफ्ना बुवाआमा अनि बैनी कमलासँग बस्ने गर्थ्यो । उ पढनमा तेज थियो । स्कूलमा सँधै प्रथम आउँथ्यो । तर त्यो स्कूलमा केही बदमाश बच्चाहरु पनि पढ्ने गर्थे । उनीहरु स्कूलमा पढ्ने बेलामा भागेर खोलामा पौडी खेल्न जाने, गाउँलेहरुको बारीबाट काँक्रा चोर्नेजस्ता बदमाशी गर्ने गर्थे ।

 

एकदिन उनै साथीहरुको लहलहैमा लागेर कमल पनि खोलामा पौडी खेल्न गयो । स्कूलमा छुट्टी भईसकेको थिएन । खोलामा पौडी खेल्दा उसलाई रमाईलो पनि लाग्यो । उसलाई पौडी खेल्न लैजाने साथीहरुलाई पनि कमललाई यस्तो नराम्रो काममा सहभागी गराउन पाएकोमा खुशी लागेको थियो ।

बिस्तारै यो क्रम बढ्दै गयो । अब कमल उनै बदमाश साथीहरुसँग बरालिने, पढ्न भन्दा स्कूलबाट भागेर यताउता घुम्न जानेजस्ता कामहरु गर्न थाल्यो ।

एकदिन कमलका बाबालाई स्कूलका सरले कमल बिग्रिदै गईरहेको । स्कूलबाट भाग्ने गरेको कुराहरु सुनाई दिए ।
कमलका बाबालाई कमलसँग सारै रिस उठ्यो तर कमललाई गाली गरेर भन्दा कुनै उदाहरण दिएर सम्झाउँने बिचार गरे ।
एकदिन उनले घरमा एकपेटी स्याउ लिएर आए । उनले त्यो झोला कमललाई दिँदै राख्न लगाए । कमलले पनि बाबाको आदेश मान्दै त्यो स्याउको पेटीलाई भित्र भण्डारमा लगेर राखे ।

अर्कोदिन बाबाले कमललाई त्यो स्याउको पेटी खोलेर हेर्न लगाए । कमलले पनि बाबाको आदेश मान्दै स्याउको पेटी हेर्यो । त्यहाँ उसले एउटा कुहिएको स्याउ भेटायो । उसले बाबालाई एउटा स्याउ कुहिएको कुरा सुनायो तर बाबाले त्यो स्याउलाई त्यही पेटीभित्रै राख्न भनेँ ।

दोस्रो दिन फेरी बाबाले कमललाई स्याउको पेटी खोलेर हेर्न लगाए । त्यहाँ अब अरु थुप्रै स्याउहरु पनि कुहिएका थिए ।  
कमलले यो कुरा बाबालाई सुनाए पछि बाबाले कमललाई सम्झाउँदै भन्न थाले - " हेर त बाबु त्यहाँ केवल एउटा कुहिएको स्याउन थियो । त्यो एउटा खराब स्याउसँगै बस्दा त्यहाँका अरु स्याउहरु पनि कुहिन थाले । सङ्गत भनेको यस्तो हुन्छ । तिमी पनि केही खराब साथीहरुको सङ्गतमा आउन थालेका छौ भन्ने मैले सुनेको छु । यदी तिमीहरु उनीहरुको संगत गर्न थाल्यौ भने तिमी जति राम्रो मान्छे भए पनि बिस्तारै यसरी स्याउ झैँ ....."

कमल बाबाको कुरा पुरा नहुँदै रुन थाल्यो र बाबासँग अंगालोमा आएर आफु अब गलत सङ्गतबाट टाढै हुने प्रण गर्यो ।  

१ कात्तिक, २०७९, १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।