सिंह, बँदेल र गिद्धहरु

सिंह, बँदेल र गिद्धहरु

कुनै जंगलमा एउटा सिंह बस्ने गर्थ्यो । एकदिन उसलाई निकै तिर्खा लाग्यो । त्यसैले उसले पानी पिउने बिचार गरेर नजिकैको एउटा झरनामा गयो । त्यहीबेला त्यहाँ एउटा बँदेल पनि पानी पिउन आईपुग्यो । उनीहरु दुबैजना निकै शक्तिशाली थिए । उनीहरुलाई यो जंगलमा सबैभन्दा बलियो मै हुँ भन्ने घमण्ड पनि थियो । जब उनीहरुले एकले अर्कालाई देखे । दुबैलाई रिस उठ्यो । उनीहरु आफु नै सबैभन्दा ठूलो हुँ भनेर साबित पनि गर्न चाहन्थे त्यसैले दुबै एकआपसमा रिसाउँदै हेरेर गर्जिन थाले । राता राता आँखा बनाउँदै दुबै आपसमा भिड्न थाले । कुनैबेला सिंहले बँदेललाई पछार्थ्यो भने कुनै बेला फेरी बँदेलले पनि लामा लामा दाह्राले सिंहलाई चोट पुरयाउँथ्यो ।
 

सिंह र बँदेलको यो लडाईं देखेर आकासमा गिद्धहरु मडारिन थाले । उनीहरु खुशी थिए किनकी सिंह र बँदेलमा जो मरे पनि एकले अर्काको मासु त खाँदैनथे । त्यसैले जो मरे पनि भोज त गिद्धहरुकै हुनेवाला थियो । गिद्धहरु आकाशबाटै " छिटो मार ! छिटो मार ! " भन्दै कराउँदै हुटिङ गर्दै थिए । लड्दा लड्दै सिँह आकाशतिर फर्केर गिद्धहरुको भिड हेर्यो । अब उसले उनीहरुले किन लड्न उक्साउँदैछन् भनेर बुझिहाल्यो । उसले तुरुन्तै बँदेललाई इशारा गर्दै आकाशतिर देखाउँदै भन्यो,-" हेर बँदेल, यी गिद्धहरु हामीहरु लडेर कतिखेर मरौंला र खाउँला भनेर खुशी भईरहेकाछन् । हामी आपसमा लडेर केही फाईदा छैन । त्यसैले लड्न छोडौं र साथी बनेर शान्तिपूर्वक पानी पिएर आफ्नो बाटो लागौं ।"

सिंहको यो कुरा बँदेललाई पनि मन पर्यो । दुबैजना लड्न छाडेर एकआपसका साथी बने अनि झरनाको पानी पिएर खुशी हुँदै आ-आफ्नो बाटो लागे ।
आकाशका गिद्धहरु हेरेको हेर्यै भए ।

२७ असोज, २०७९, १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।