भिक्टरको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

भिक्टरको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

काठमाडौँ : बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले हालै बजारमा ल्याएको छ।

उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ। कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको प्रकाशन संस्थाले जानकारी दिएको छ।

उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले आफ्नै शैलीमा लेखेका छन्। दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्क्याएर कोसल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँकहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौँ प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्त्वपूर्ण बन्न सक्छ ।

उपन्यासकार प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय रहेका छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास-संस्कृति र नृवंशा क्षेत्रमा ४ दशकदेखि काम गरिरहेका प्रबुद्धव्यक्तित्व हुन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् । उनी विभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाका सम्पादकका रूपमा सक्रिय छन्।

३१ भदौ, २०७९, १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।