जन्ती त देखाएनन् तर मलामी राम्रै कमाएका रहेछन् गिरिले

जन्ती त देखाएनन् तर मलामी राम्रै कमाएका रहेछन् गिरिले

काठमाडौं : असल काममा तल्लित हुनुको कारण प्रष्ट्याउनु परे भन्ने गरिन्छ, 'ज्युदाको जन्ती अनी मर्दाको मलामी कमाउने।'

जन्ती त कसलाई लगे होलान् र प्रदिप गिरीले। तर मलामी भने राम्रै कमाएका रहेछन् आफ्नो जीवनकालमा। मलामी पनि बाध्यताका हैन असल मनमा।

पशुपति आर्यघाटमा उनको पार्थिव शरीर धुँवा बनेर उडिरहँदा त्यहाँ पुगेका अधिकांशले आफ्नै प्यारा व्यक्ति धुँवा बनेर उडिरहे जस्तै पीडा बोध गरिरहेकाझैँ देखिन्थे।

आर्यघाट भए पनि हसीँमजाक पनि चलिरहन्छ। निकट आफन्त बाहेक जानै पर्ने भएर घाट जानेको मुहारमा पीडा कमै देखिन्छ। तर गिरिको पार्थिव शरीरको विदाईमा मेडिसिटी होस् या कांग्रेस पार्टी कार्यालय या आर्यघाट जति थिए सबै शोकमै थिए। सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म, विपक्षी दलका नेतादेखि सहयात्रीसम्म।

समाजवादी विचारधारामा अडिग। कम्युनिष्टले पुँजीवादी र सामन्त प्रचलनको मान्यता दिएको आरोप लगाउने कांग्रेसमा आवद्ध। कांग्रेसबाटै प्रतिनिधि सभा सदस्य। कांग्रेसी कार्यकर्ताको नजरमा वीपीका अनुयायी। कम्युनिष्ट कार्यकर्ताको नजरमा प्रखर समाजवादी। कम्युनिष्टलाई समाजवादी चिन्तन र मार्क्सवाद अनि कम्युनिष्टको बारेमा पढाउन सक्ने बौद्धिक नेता।

यति हो उनको परिचय। न पूर्व मन्त्री न कुनै राजशी नियुक्ती। सबैभन्दा ठूलो पद उही जनताको प्रतिनिधि सांसद। तै पनि विचारैले पनि व्यक्तिको मनमा बस्न सकिने रहेछ। त्यही देखायो उनको विदाईका दृश्यले।

उनको राजनीतिक सम्बन्ध कांग्रेससँगै रह्यो। तर उनी सबै दलका नेताले स्वीकारेका सर्वमान्य नेता रहेछन्। त्यही देखायो उनको विदाईको दृश्यले।

नेताका नजरमा गिरि

श्रद्धान्जली दिन नख्खु पुगेका अर्थमन्त्री जनार्दन शर्माले गिरिलाई मार्स्कवादको व्याख्याताको रूपमा बुझेका रहेछन्।

लोकतन्त्र र समाजवादको सहि ढंगले व्याख्या गुर्नहुन्थ्यो, लोकतन्त्र र समाजवाद फरक ढंगले बुझ्ने गर्नुहुन्थ्यो,’ गिरिलाई निष्ठावान राजनीतिज्ञ र अनुकरणीय व्यक्तित्वको रूपमा शर्माले सम्झिए, ‘माक्सवाददेखि लोकतन्त्रको व्याख्याता बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो।

कांग्रेसका नेता शेखर कोइरालाले गिरिबाट सादगी जीवन सिक्नुपर्ने बताए।

वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद उहाँले जस्तो व्याख्या गर्ने दोस्रो मान्छे देखेको छैन,’ कोइरालाले भने, ‘पार्टीको लाइन चित्त बुझेको छैन भने त्यसको विरुद्धमा उभिन सक्ने व्यक्ति पनि हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिनाअघि प्रदीप गिरिसँग समृद्धिको अभियान चलाउनेबारे गम्भीर चर्चा भएको स्मरण गरे।

हामी सँगै बसेर देशको राजनीतिलाई कसरी अगाडि बढाउँदा राष्ट्रिय एकताका लागि समृद्धिको अभियान चलाउन सकिएला भनेर गरेको चर्चामा उहाँले दिएका केही भिजनहरू स्मरण गरिरहेको छु,’ प्रचण्डले भने।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी र मास्र्कवादी चिन्तकको रूपमा गिरिलाई स्मरण गरे।

समाजवादी पार्टी गठनपछि ठिक बाटोमा हिँडेको बताउँदै उहाँले आदर्श र सिद्धान्त रक्षा गर्नसके अघि बढ्नसक्ने ढाडस दिनुभएको थियो,’ उनले सम्झिए, ‘समाजवादी चिन्तक सबैका साझा हुन्छ ।

आदर्शको मानक बनाएपछि त्यसलाई पछ्याउने भएकाले उनी कांग्रेसी नेता भन्दा फरक रहेको खतिवडाको बुझाइ रह्यो।

०७२ सालमा जारी भएको संविधानमा हस्ताक्षर नगर्ने एक्ला कांग्रेसी सांसद थिए गिरि। उनलाई मधेशको नेतृत्वले सोही कारणले पनि सम्मान गर्ने गर्छ।

कांग्रेसभित्रका मधेशी नेताहरूमध्येमा सच्चा सपूत भएर उहाँले काम गर्नुभयो,’ लोसपाका नेता डा. सुरेन्द्र झाले भने, ‘कम्युनिष्टहरूलाई समेत छाप छाड्ने गरि उहाँको विचारधारा आउँथ्यो, युवा पुस्तामा उहाँको विश्वास थियो।

लोसपाका नेता राजेन्द्र महतोले नेता गिरि दलभन्दा माथि उठेर देश र जनताको लागि सोच्ने नेता भएको बताए।

संविधान निर्माणको क्रममा हस्ताक्षर नगरेकाले उहाँ पार्टीभन्दा माथि देश र जनताको लागि सोच्ने आदर्शवादी नेता हुनुहुन्थ्यो,’ उनले भने।

यस्तै, एमाले नेता भीम रावलले कार्यकारी पद नपाए पनि जनताको पक्षमा बोलिरहँदा सम्मानित हुन सकिने भन्दै गिरिको स्मरण गरे।

उहाँले कार्यकारी पदको लागि गहिरो चाहना गरेको देखिएन, राजनीति गर्दा कार्यकारी पद नपाए पनि सम्मानित हुन सकिन्छ,’ उनले भने।

मुख्यालय भारतीको आत्मियता

पार्टी मुख्यालयमा श्रद्धाञ्जली दिन नेता कार्यकर्ता र शुभेच्छुकहरूको भीड थियो। गिरिको मृत्युपछि मात्र सार्वजनिक रूपमा खुलेकी श्रीमती भारती सिलवाल भनिरहेकी थिइन्, ‘देशभरबाट आएका सबै शुभेच्छुकले श्रद्धाञ्जली दिएपछि मात्र उठाउने हो। कोही पनि नछुटून्।

उनले समवेदना दिने नेतादेखि सर्वसाधारणसम्म आत्मियता देखाइरहिन्।

छडीका सहारामा श्रद्धाञ्जली दिन पार्टी मुख्यालय पुगे मस्तिष्कघातबाट पीडित कांग्रेस नेता नरहरि आचार्य। शोकमा रहेकी भारती नरहरिलाई देख्नेबित्तिकै हात समात्न पुगिन्। आचार्यलाई कुर्सीमा बस्न भारतीले नै सहयोग गरिन्।

आचार्य र गिरि किशोरावस्थादेखिका साथी हुन्।

१४ वर्षको उमेरदेखि चिनजान हो। ०२७ सालमा जेल पर्दा किताब पुर्याइदिन गएको थिएँ,’ आचार्यले सम्झिए, ‘उहाँ विचारक, निष्ठावान् नेता हुनुहुन्थ्यो। देश र पार्टीका लागि अपूरणीय क्षति भयो।

मौन गगन

कांगेस महामन्त्री गगन थापा आइतबार दिनभर जसो गिरिको पार्थिव शरीरकै वरिपरि थिए। भावुक बनेका थापा मौन रहे। कोही गएर केही बोल्दा औपचारिकता निभाइदिन्थे। राजनीतिमा खोजीका पात्र उनी सञ्चारमाध्यमले धारणा राखिदिन आग्रह गर्दा इन्कार गरिरहे। थापाको भाषण शैली र गिरिको भाषण शैली मिल्न जान्छ। तर्क संगत र व्याख्यात्मक भाषण गर्ने यी दुवैको विशेषता हो।

आर्यघाटमा मात्र बोले विश्वप्रकाश

अर्का महामन्त्री विश्वप्रकाश शर्मा पशुपति आर्यघाटमा मात्र देखिए। उनले १ मिनेट मौन धारण गर्न मलामीलाई आग्रह गर्दा समान्य कुरा गरेर श्रद्धाञ्जली दिए। त्यसअघि सार्वजनिक टिप्पणीमा शर्मा देखिएनन्।

सम्हालिएका देउवा

प्रधानमन्त्री तथा कांग्रस सभापति शेरबहादुर देउवा अरुलाई हप्काइहाल्छन्। तर, आइतबार शोकमा डुबेका उनी त्यति हतारिएनन्। शान्त रहे। पार्टी मुख्यालमा होस् या भीड भएको आर्यघाटमा।

उनले अन्तिम श्रद्धाञ्जली दिएर आर्यघाटमा पार्टीको झण्डा ओढाए। झण्डा ओढाउँदा झण्डा खोल्न उनका सहयोगीलाई समेत गाह्रो हुने भीड थियो। गिरिको शरीर खरानी बन्दै गर्दा देउवा पछाडि रहेको पाटीमा गएर बसे। वैचनी भएका देउवालाई शीर्ष नेताहरूले ढाडस दिइरहे।

पटकपटक सांसद भएका गिरि मन्त्री बनेनन्। मन्त्रीको अफर लत्याउने नेताका रूपमा उनलाई चिनिन्छ। किन मन्त्री बन्नुभएन भन्ने प्रश्नमा उनी भन्थे, ‘मलाई मन्त्री बनाइदेऊ भन्द जाँदिन, उनीहरूले अफर गर्दैनन्।

त्यस्तो किन भन्ने प्रश्नमा उनले पछि भन्छु भनेर जवाफ दिन्थे। त्यो जवाफ नदिइ अस्ताए गिरि। मेडिसिटी, सानेपा हुँदै पशुपति आर्यघाटसम्म आगन्तुकको प्रतिक्रिया थियो, ‘यस्तो मान्छे पाइँदैन...। अबका नेताको मलामी यस्तो पाइँदैन...।यस्तो भनिरहेको भीडले आर्यघाटमा नारा लगायो, ‘समाजवादी प्रदीप गिरि अमर रहुन्..।

५ भदौ, २०७९, २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।