तिमाल साइकल यात्रा 

तिमाल साइकल यात्रा 

यात्राको पहिलो गन्तव्य दाप्चा, दोस्रो काफलडाँडा तीनधारे र तेस्रो तिमाल। दुई दिनको यात्रामा हामीले काभ्रेपलाञ्चोक जिल्लाका नमोःबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका केही भेगको रमाइलो अनुभव बटुल्यौं। 

दुई रातको दाप्चा बसाइ पनि सकियो। साइकल यात्रा योजना अनुसार अन्तिम दिन। हाम्रो भौतिक शरिर दाप्चामै। मन भने तिमालमै पुगिसकेको थियो। बिहान नियमित साइकल सफाइ र खाजा खाएपछि दाप्चाबाट तिमालतर्फ रमाना भयौं। बिहानीपखको सूर्यको सुनौलो रंगमा भिजेको प्रकृतिको सुन्दरता शब्दमा व्यक्त गर्न निकै कठिन छ। हामीले भरपुर आनन्द लियौं। तेस्रो दिनको यात्राको मज्जा प्राकृतिक सुन्दरताको मात्र थिएन। अघिल्लो दुई दिन साइकलका पाङ्ग्राले कोरेका धर्सा डाँडाका टुप्पाबाट नियाल्नु थियो। साइकलले पुर्याएको गन्तव्य, ताजा स्मृतिका पाना पल्टाउनुमा थियो। 

दाप्चा बजारबाट ओझेल पर्दै हामी गैह्रा पाटी, काली कुवा, डराउने पोखरी, तल्लो हटिया हुँदै काँक्रे पुग्यौं। काँक्रेमा सहयात्री मित्र गोपाल श्रेष्ठको बा–आमा बस्नु हुन्छ। यहाँसम्म आएपछि भेटघाट त गर्नै पर्याे। काँक्रेबाट देखिने हिमाली तथा पहाडका सुन्दरताले हामीलाई निकै अलमलायो।

अग्ला सेता हिमालका काखमा समुद्रका छालजस्ता पहाड। मझौला पहाडका टुप्पामा उभिएर वरिपरि भिराला बारीका स–साना सुर्कासुर्की, पाट बारीमा फुलेका पहेंलपुर तोरीको सुन्दरता नियाल्यौं। यहाँको सुन्दरता र मगमग तोरीको बासनाले लठ्ठ बनायो। बाटोका छेउछाउमा बारीका कान्लामा फुलेका सयपत्री सुन्दरताका थप आकर्षण थिए।

पहिलेको काँक्रे बजारले रूप फेर्दै रहेछ। चौंडा सडकमा कालोपत्रे तयारी हुँदै छ। बाटो छेउका झाडी व्यवस्थापनपछि राम्रो देखिएको छ। अझ दसैंलाई बिदाबारी गरेर यमपञ्चकको दोस्रो दिन घर्कदै थियो। लक्ष्मीपूजाको तयारीमा थियो। सहयात्री गोपाल श्रेष्ठले विगत सम्झिए, ‘सानो छँदा दसैं–तिहारको बेला काँक्रे भएर ओहरदोहर गर्नेको निकै भिड हुन्थ्यो। त्यसै रमाइलो। अहिलेको जस्तो सुनसान कहाँ हो र ?’ 

अर्का सहयात्री दीपक श्रेष्ठ भने काँक्रेका पुराना घर हेर्दै आफैमा हराइरहेका थिए। भेटघाट, चिया–खाजापछि हामीले पुनः यात्रा सुचार गर्याैं। दाप्चा बजार, काँक्रेबाट भकुण्डेबेशी झर्ने धेरै बाटाहरू बनिसकेका छन्। काँक्रेबाट ओह्रालो बाटो भएकाले हामी एकै क्षणमा हुरुरु भकुण्डे पुग्यौं।

भकुण्डेबेशीका धान फल्ने उर्भर फाँटमा ढलाने घरले भरिन थालेको छ। फाँट छिचोलेर बीपी राजमार्गमा पुग्यौं। भकुण्डेबाट तिमाल जाने विभिन्न रुट तय गर्न सकिन्छ। कताबाट उकलो लाग्ने ? तीन जनाको मत बाझियो। सहयात्रीहरूको इच्छाविपरीत साविककै बाटोबाट उकालो लाग्ने निधो गरें। 

यसलाई प्राथमिकतामा राख्नुको कारण समयको अभाव थियो। हाम्रासामु मेथिनकोटको उकालो चुनौती थप्दै तेर्सियो। कतै पक्की कतै कच्ची बाटो। पसिनाको धारा छुटाउदै हामी मेथिनकोट पुग्यौं। 

मेथिनकोट उकालो लाग्दै गर्दा बाटोका छेउछाउमा साइकल यात्रीले साना भाइबहिनीका ध्यान निकै खिच्यो । नमस्ते, हेलो, बाई बाई । उकालोमा दुई जना अघि अघि म पुछारमा थिएँ । साना भाइबहिनीका सवालको जवाफ दिँदै, पाउदान घुमाउँदै। बाटोको डिलमा जस्तापाताले बनेको एउटा घर थियो। घरको आँगनमा घामको पार तापेर महिला र केटाकेटी बसिरहेका थिए। एक बच्चाले भने, ‘मलाई पनि साइकल चढाइदिनुस् न ।’ 

मैले मसँगै जाने हो भनेर सोधें। एउटी महिलाले यसलाई लैजानु भनेर युवतीतर्फ इंगित गरिन्। अर्की महिलाले निकै उच्छृंखल अभिव्यक्ति दिइन्, ‘आफू त फलानो थोक फुट्ला जसरी उकालो चढिरा’छ। लान्छ तँलाई।’ 

तेस्री महिलाले भनिन्, ‘ए बूढी माउ, के साह्रो पात्तिएको...।’ 

लाजले नाजवाफ म रातो पिरो भएर अगाडि बढें । 

पहिले हामी दुई दीपक श्रेष्ठ र म केही वर्षअघि यही बाटो भएर साइकलमा कानपुरबाट भकुण्डे ओह्रालो झरेका थियौं। पुराना स्मृतिका पाना फुकाउँदै हामी खर्दारपाटी पुग्यौं। खर्दारपाटी निकै कलात्मक छ। पाटीको झ्यालको काष्ठकला निकै बेजोड। पूर्वजले आफ्ना कीर्ति राख्न बनाएका यस्ता पाटी अहिले बेवारिसे भएको छ। हामी भित्र पस्दा विकृतिका पोका निकै फेला परे। 

खर्दारपाटीबाट हामी कानपुरतर्फ लाग्यौं। कानपुरबाट कोट तिमाल पुग्न अझ उकालो बाटो जानुपर्छ। कोट तिमाल नगइ डाँडाको कोखकोखै बोहोरे दोभान पनि पुग्न सकिन्छ। कानपुरमा ऊर्जा भर्न केही बेर चिया विश्राम लियौं। घमाइलो दिन। कमेरा र राता माटाले लिपेका गाउँमा पुराना घर। तिहारको माहोल। समय निकै उत्साहप्रद थियो हाम्रा लागि। 

डाँडाको उकालो लाग्दै गर्दा बाक्लो गाउँ देखिन थाले। भकुण्डेबाट करिब १२ किमि उकालो लागेपछि कोट तिमाल पुगिन्छ। कोट तिमालमा पुरानो दरवारको भग्नावशेष अझै भएको सुनेका थियौं। तर, सही सूचनाको अभावले हामी पुग्न सकेनौं। तिमाल गाउँपालिकामा पर्छ कोट तिमाल । 

साविकका मेथिनकोट, सस्र्यूंखर्क, सरमथली,  बोल्देफेदिचे, नारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छेसहित समेटेर तिमाल गाउँपालिका बनेको हो। गाउँपालिकामा ९ वटा वडा छन्। तिमाल गाउँपालिका पूर्वमा चौरी देउराली गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका, उत्तरमा चौंरी देउराली गाउँपालिका, भुम्लु गाउँपालिका र पाँचखाल नगरपालिका, दक्षिणमा रोशी गाउँपालिका र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले घेरिएको छ। तिमालमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको समान आस्था राख्ने नारायण स्थान मन्दिर, कालिका मन्दिर र बुद्ध स्तुपाहरू छन्। 

तिमाल गाउँपालिका वडा नं ४ बोल्दे सुनकोशी किनारमा भीम पाइला छ। धार्मिक महत्त्व बोकेको बोधी चित्त मालाको लागि पनि तिमाल प्रख्यात छ। यहाँ बोधि चित्तको खेती एवं व्यवसाय राम्रो भएको मानिन्छ। यहाँका स्थानीयहरूको मुख्य पेशा कृषि–पशुपालन नै हो। तिमालको राम्रो पक्ष धार्मिक पर्यटनको प्रचुर सम्भावना छ। तर, प्रचारप्रसार तथा पर्यटकीय सुविधामा भने निकै कमजोर देखिन्छ। 

कोट तिमालको सरसर्ती घुमाइपछि तीन जना दुई बाटो लाग्ने भयौं । गोपाल श्रेष्ठ दाप्चा तथा दीपक श्रेष्ठ र म काठमाडौं। हामी कोट तिमालबाट बोहोरे दोभानतर्फ ओर्लियौं। ओह्रालो लाग्दै गर्दा सामुन्ने हिमाल टक्रक्क देखियो, अन्नपूर्णदेखि सगरमाथासम्म। 

साइकलमा तुफान हुइँकिएका सहयात्री टक्क अडिए। काँधमा भिरेको क्यामेरा निकाले। सक्दो तस्बिर फटाफट क्यामेरामा कैद गरे। हिमाल, पहाड र वेगले बग्दै गरेको सुनकोशीको। एकक्षणको सुन्दर दृश्यपानपछि पुनः ओह्रालो लाग्यौं। केही वर्षअगाडि हामी यही बाटो भएर तिमाल उकालिएका थियौं। ठाउँ उही, समय र सन्दर्भ फरक। जीवनको रमाइलो पक्ष भनेकै साथीभाइ, आफन्तसँग पुराना याद सम्झनु, रमाइलो क्षण आदानप्रदान गर्नु । बोल्डर ढुंगा छापेको ठाडो ओह्रालो बाटो साइकल मात्र होइन, शरीरका सबै पाटपुर्जा थर्कने। तिमाल उक्लँदा उकालो उक्लनु पर्ने चुनौती, ओर्लदा शरीर र साइकल नियन्त्रणमा राख्नु पर्ने चुनौती। दिन छोटो हँुदै थियो। हामीले थप चुनौती सामना गर्नु पर्ने समय आउँदै थियो।  

सुनकोशी र रोशीको पानी अविरल बगेको छ। तर, तिमाल डाँडामा निकै सुख्खा देखिन्छ। पानीको निकै अभाव छ जस्तो छ अहिले पनि। स्थानीय महिलाहरू डोकोमा पानी बोकेर उक्लदै थिए। अघिल्लो पटक भोक, प्यास र व्याकुलतामा छटपटिएको अनुभव ताजै थियो स्मृतिपलटमा।  

बोहरे दोभानबाट ओह्रालो बाटो सकियो। ट्रिपरले उडाएको धुलोमा रंगिँदै हामी बालुवातर्फ अघि बढ्यौं। बालुवातिर आउने बाटो निकै चौडा, कालोपत्रे हँुदै रहेछ। बालुवा कटेपछि धुलिखेल पुग्न निकै लामो उकालो लाग्नुपर्छ। 

दिनभरको थकान र भोक चुलिँदो थियो। यस्तो बखत उकालो बाटो कदापि रुचिकर हुँदैन। यथार्थसँग भिड्नु नै पर्याे। कात्तिकका छोटा दिन। तीन पिप्ले पुग्दै गर्दा साँझ झमक्क भयो। यहाँसम्म आइपुग्दा भोकले अत्याइसकेको थियो। थकानले चूर बनाइसकेको थियो। चिया खाजा खाने ठाउँ खोज्यौं। सबैतिर भीडभाड। सचेतता देखिएन।     

परिस्थिति जटिल छ। सुरक्षाका लागि सामाजिक, भौतिक दूरी पनि राख्नु छ। कायम राख्दै कामकाजमा पनि जानु छ। 

कतिपय जटिल संक्रमणबाट बाँच्न संघर्ष गरिरहेका छन्। संक्रमण जित्न सफलहरूको कथा, अनुभव सुन्दा मुटु काँप्छ। कतिपयले आफन्त गुमाएको पीडा छ। यस्ता खबरले स्तब्ध बनाउँछ। कहाली लाग्छ सम्झँदा पनि। यात्राको तेस्रो दिन पनि कोभिड १९ का निरास लाग्दा कुरा सुन्दै यात्रालाई निरन्तरता दियौं।

बन्दाबन्दीको घोषणा हुने हल्लाको कुहिरोमा धेरै मानिसहरू त्रस्त थिए। बन्दाबन्दीसम्बन्धी कुरा हामीले कसरी थाहा पाउनु। कुरा गर्ने मेसो मात्र थियो। बजारमा बढ्दो मानवीय चहलपहल घट्ने संकेत देखिएको थियो। हामीले उकालो लाग्ने निधो गर्याैं। जटिल परिस्थितिमा शारीरिक तथा मानसिक स्वास्थ्य सन्तुलित राख्नु आवश्यक छ। दीपक दाइ आफैले बनाएको इनर्जी बार थियो। बचेकोमध्ये केही खायौं। प्यास पनि मेटायौं। केही तागत त भरियो। तर, धुलिखेलसम्म पुर्याउनेमा सन्देह थियो। उकालोले शरीर केही क्षणमै निस्तेज बनायो। निस्तेज शरीर बोकेर हामी निरन्तर उकालिरह्यौं। 

धुलिखेलसम्म आइपुग्नै धौ–धौ भयो। अधिकांश पसल बन्द भइसकेका थिए। पहिलेका सालहरूजस्तै तिहारको रौनक पनि थिएन। एउटा पुरानो पसल बन्द हुँदै थियो। खानेकुराको नाममा डेढ प्लेट मःमः। त्यसलाई स्टिम गर्न लगाएर निकै स्वाद लिएर पुनः शरिरमा इन्धन भर्याैं, जसले हामीलाई मुस्किलले घरको दैलोसम्म डोर्यायो। 

जय होस ! यात्राको तेस्रो दिन लगभग १०० किमी दूरी पार गरिए छ।

२७ मंसिर, २०७७, ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।