मीनबहादुर-एमाले 'भवन काण्ड' समाप्त, एमालेले धन्यवादसहित दान फिर्ता गर्यो
काठमाडौं : एमालेले मीनबहादुर गुरुङबाट व्यावसायिक दानमा प्राप्त गर्न लागेको विवादित भवन र जग्गा फिर्ता गरेर बल्खुमै कार्यालय भवन बनाउने निर्णय गरेको छ। एमाले उपमहासचिव लेखराज भट्टले कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद सहित प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय भएको जानकारी दिए।
भूकम्पबाट बल्खुमा रहेको भवन बस्न लायक समेत नभएपछि एमालेले विभिन्न ठाउँमा भाडामा भवन लिएर कार्यालय चलाउँदै आएको छ। एमालेको आधुनिक भवन बनाएर दिन गुरुङले जग्गा दान दिने बताउँदै २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवन शिल्यान्यास गरेका थिए।
यो घटना सार्वजनिक भए लगत्तै एमालेभित्र समेत विरोध भएको थियो। तर विरोध गर्नेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका थिए। यो निर्णयले गुरुङसमेत विवादमा तानिएका थिए।
कन्फ्लिक्ट अफ इन्ट्रेस्ट र सत्ताको दुरुपयोग
यो घटनामा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट र सत्ताको दुरुपयोगको रूपमा आलोचना भएको थियो। भाटभटेनीका सञ्चालक गुरुङ दानवीर स्वभावसँगै ललिता निवास जग्गा भ्रष्टाचार अनि कर छली लगायतका प्रकरणमा समेत जोडिँदै आएका छन्।
सत्तारूढ दल, त्यसमा पनि देशको प्रधानमन्त्री अध्यक्ष रहेको पार्टीले राज्यको निकायबाट अनुसन्धान र कारबाही भोगिरहेका व्यापारीबाट अर्बौँको ‘दान’ थाप्नु नीतिगत भ्रष्टाचार र सदाचारको धज्जी उडाउनु भन्दै आलोचना भयो।
प्रारम्भमा अदालतले अन्तरकालीन आदेश दिँदा समेत यसबारे गम्भीर प्रश्नहरू उठाएको थियो। तर पछि यो घटनालाई निकै सामान्य रूपमा व्यवहार गरेको थियो। तर यसले एमालेभित्र भने असन्तुष्टि बढाउने काम गर्यो।
पार्टीको 'नैतिक साख' र 'कम्युनिस्ट आचरण' माथि ठूलो धक्का पुर्याएको भन्दै भीम रावल, विन्दा पाण्डे लगायतका नेताहरूले आलोचना गरे। उनीहरूले "साढे ५ लाख पार्टी सदस्य भएको दलले एकजना विवादास्पद व्यापारीसँग हात थापेर शिर निहुराउनु हुँदैन" भन्दै नेतृत्वलाई दबाब दिएका थिए। तर जसले आलोचना गरे उनीहरू नै कारबाहीमा परे। रावल पार्टीबाट निकालिए अन्य नेताहरू निलम्बनमा परे।
यो विवाद केवल राजनीतिक मात्र रहेन, कानुनी रूपमा पनि एमालेका लागि गलपासो बन्यो। दान लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जग्गा हस्तान्तरण र भवन निर्माणको काम अघि बढाउन रोक लगाइदियो।
त्यसमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ (५) अनुसार दलहरूले आर्थिक सहयोग वा चन्दा लिँदा स्वैच्छिक रूपमा मात्र लिन पाउने र त्यसको स्रोत पारदर्शी हुनुपर्ने व्यवस्थाबारे उल्लेख गरिएको थियो। पछि भने यो कानुनी प्रश्न समाधान भयो तर नैतिक प्रश्न कायमै रह्यो।
चैत १५ र भदौ २४ को ध्वंस
२०८१ चैत १५ मा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा छरिएका प्रदर्शनकारीहरूको अन्य निकायसँगै कोटेश्वरको भाटभटेनी सुपरमार्केट समेत परेको थियो। प्रदर्शनकारीहरूले सो भवनमा तोडफोड र लुटपाट गरेका थिए।
भदौ २४ को ध्वंसमा पुन भाटभटेनी प्रदर्शनकारीहरूको तारोमा पर्यो। काठमाडौंमा मात्र हैन, काठमाडौं बाहिरका भाटभटेनीसमेत निशानामा पर्यो। जलाइयो, लुटियो। भदौ २४ को आक्रोशमा कुनै न कुनै रूपमा तत्कालीन सत्ताधारी एमाले र अझ विशेष प्रधानमन्त्री केपी ओली समेत जोडिएका थिए नै।
भव्य भवन बनाएर दिने वाचासहित जग्गा दान दिँदा मीनबहादुरलाई पनि प्रदर्शनकारीहरूले एमाले अझ विशेष ओलीको मुख्य सहयोगीको रूपमा लिए र भाटभटेनीका स्टोरहरूलाई निशानामा पारेका थिए।
एमालेलाई जग्गा दान दिनु अगाडि मीनबहादुरले अस्पतालको भवन बनाइदिने लगायतका कल्याणकारी कामहरू गर्ने गरेका थिए। तर एमालेलाई भवन बनाइदिन जग्गा दानमा दिने उनको निर्णय भने निकै भारी पर्यो।
अन्तमा मदन नगरै प्यारो
भाटभटेनीहुँदै सामाजिक काममा सक्रिय मीनबहादुर आखिर किन एमालेको पोल्टामा गएका थिए? त्यो खुलेको छैन। तर गुरुङको प्रस्ताव फिर्ता गरेर बल्खुस्थित आफ्नै पुरानो मुख्यालय (मदननगर) मा भवन बनाउने एमालेको निर्णयले एमाले अनि मीनबहादुर दुबैलाई एक विवादबाट अलग गराएको छ।
बल्खुमा रहेको जग्गा र भवन निर्माणको प्रक्रिया पनि पारदर्शी भने छैन। एमालेकै नेता केशव स्थापितले सार्वजनिक रूपमै बागदेव गौतम गृहमन्त्री हुँदा सुन तस्करी लगायतका अवैध कामबाट सङ्कलित रकमबाट बल्खुमा मदन नगर बनेको दाबी गरेका थिए।
भूकम्पबाट मदन नगरको भवन बस्न लायक भएन। सोही भवन भत्काएर नयाँ भवन बनाउनेबारे पार्टीभित्र माग उठिरहेकै थियो। तर अध्यक्ष ओलीले त्यसलाई त्यति महत्त्व दिएनन्। उनले पहिला सुकेधारामा रहेको पासाङल्हामु प्रतिष्ठानको भवनमा कार्यालय राखे। पछि च्यासलमा भवन भाडा लिएर बसिरहेको छ।
पछि एकाएक मीनबहादुरले जग्गा दान दिने र त्यसमा भव्य र आधुनिक भवन समेत उनै गुरुङले बनाइदिने घोषणा भयो।
जेठ १०, २०८३ आइतबार २३:२१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।