कान्समा ऐतिहासिक ‘जुरी अवार्ड’ जितेको ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई सरकारले विमानस्थलमै स्वागत गर्ने

कान्समा ऐतिहासिक ‘जुरी अवार्ड’ जितेको ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई सरकारले विमानस्थलमै स्वागत गर्ने

काठमाडौं : प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा पहिलो पटक ऐतिहासिक ‘जुरी अवार्ड’ जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (हात्तीभित्रका हात्ती) को टोली सोमबार स्वदेश फर्कँदैछ। 

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर फर्कन लागेको यस टोलीलाई भव्य स्वागत र सम्मान गर्ने तयारीमा सरकार जुटेको छ।

फेस्टिभलको प्रिमियरमा विदेशी चलचित्रकर्मीहरूबाट करिब ९ मिनेटसम्म ‘स्ट्यान्डिङ ओभेसन’ (उभिएर ताली) पाएको यस चलचित्रले विश्व बजारमा नेपाली सिनेमाको बलियो छाप छाडेको छ।

कलाकारहरूको खबरदारी र सामाजिक सञ्जालमा बहस
राज्य पक्षबाट कला क्षेत्रलाई पर्याप्त सहयोग नभएको गुनासो भइरहेका बेला यो ठुलो सफलता हात परेपछि नेपाली सिने क्षेत्र हर्षित छ। यसैबिच, अवार्ड विजेता टोली स्वदेश फर्कँदा सरकारले सम्मान गर्नुपर्ने विषयमा कलाकारहरूले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

अभिनेत्री बेनिशा हमालले विमानस्थलमा सरकारले कस्तो स्वागत गर्ला भन्ने जान्न आतुर रहेको बताएकी छिन्। उनले फेसबुकमा लेखेकी छन्, "कान्स फिल्म फेस्टिभलमा इतिहास रच्दै पहिलो पटक जुरी अवार्ड समेत जितेर ‘एलिफेन्ट्स इन द फग’को टोली भोली नेपाल आइपुग्ने रहेछ। यो गौरवमय क्षणमा विमानस्थलमा कस्तो स्वागत होला, नेपाल सरकार म जान्न आतुर छु।"

अभिनेता महेश त्रिपाठीले पनि बेनिशाकै शैलीमा सामाजिक सञ्जालमार्फत सरकारलाई खबरदारी गर्दै उक्त टोलीको स्वागत र सम्मानको स्तर कस्तो होला भनी चासो व्यक्त गरेका छन्।

सरकार र चलचित्र विकास बोर्डको तयारी
कलाकारहरूको चौतर्फी चासो र खबरदारीपछि सरकार र चलचित्र विकास बोर्डले टोलीलाई भव्य स्वागत गर्ने आधिकारिक घोषणा गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जालमार्फत यो सफलता सिंगो देशकै गौरव भएको उल्लेख गर्दै लेखेका छन्, " यो केवल एउटा अवार्ड जितेको क्षण होइन,नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर फर्किने यो टोलीलाई सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ।"

त्यसैगरि, चलचित्र विकास बोर्डका अनुसार अविनाशविक्रम शाह निर्देशित यस चलचित्रको टोलीलाई सोमबार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरिनेछ। साथै, टोलीको सम्मानमा बोर्डले एक साताभित्रै विशेष सम्मान कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरेको छ।

जेठ १०, २०८३ आइतबार १९:१९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।