पटक-पटक म्याद थप्दा पनि बनेन महेशपुर भन्सार सडक; घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे

पटक-पटक म्याद थप्दा पनि बनेन महेशपुर भन्सार सडक; घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे

नवलपरासी : नेपाल-भारत सीमा क्षेत्रलाई जोड्ने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार सडकखण्ड पटक-पटक म्याद थप गर्दा पनि निर्माण हुन सकेको छैन। सडक अलपत्र परेपछि स्थानीय बासिन्दा, यात्रु र मालवाहक सवारी साधनहरूले निकै सास्ती व्यहोर्नुपरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको पाँच सय मिटर सडक निर्माणको जिम्मा गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई दिएको थियो।


विसं २०८१ वैशाख २६ गते निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख २६ गते सम्झौता गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताए। उनका अनुसार बिजुलीको खम्बा तथा खानेपानीको पाइप सार्न ढिलाइ भएकाले ठेकेदारले समयमा काम सम्पन्न गर्न सकेको छैन।

महेशपुर सडकको काम सम्पन्न गर्नका लागि जेठसम्म तेस्रो तथा अन्ति पटक म्याद थप गरिएपनि अलकत्राको मूल्य वृद्धि भएको भन्दै ठेकेदारले अहिले काम बन्द गरेका छन्। अलकत्रा अभावको कारण  समयमा काम सम्पन्न गर्न नसकेको गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीका दिलीप लामाले बताए।

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि धुलैधुलो भएर घरको आँगनमा बस्न नमिल्ने, यात्रुहरू सडकमा आवतजावत गर्दा नाकमुख छोप्नुपर्ने तथा भारतबाट आउने मालवाहक सवारीहरूलाई आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए। 

उनी  भन्छन्, “समयमै सडक निर्माण हुन नसक्दा पानी नपर्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने अवस्था छ, जनताले सास्ती पाएका छन्। निर्माण व्यवसायी इमान्दार नहुँदा राज्यको रकम खेर गएको छ भने जनताले दुःख पाएका छन्।”

जेठ १०, २०८३ आइतबार ११:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।