भारतमा करोडौँको चोरी गरी नेपालमा लुकाइएको धनमाल बरामद, तीन आरोपी प्रहरी नियन्त्रणमा
धनगढी : भारतको दिल्लीबाट करोडौँको धनसम्पत्ति चोरी गरी नेपाल भित्र्याएको आरोपमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट हिरामोती, सुनचाँदीका गरगहना र नगदसहित करिब २ करोड १० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार मखीजको घरबाट ठुलो परिमाणमा धनसम्पत्ति चोरी भएको थियो। चोरीमा संलग्न बाजुराको बुढीगङ्गा नगरपालिका–१० का उपेन्द्र रावतसहितको टोली सामान लिएर फरार भएको थियो। घरधनी मखजीले नेपाल प्रहरीमा उजुरी दिएपछि सुदूरपश्चिम प्रदेश प्रहरीले विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूसँग समन्वय गरी अनुसन्धान सुरु गरेको थियो।
लामो अनुसन्धान र खोजतलासपछि प्रहरीले चोरीका सामान लुकाएर राखेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले बताए ।
‘लामो अनुसन्धानपछि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हौं,’ शाहीले भने, ‘गरगहना र नगद उनीहरुले आफन्तको घरमा राखेका थिए। अहिले बरामद् गरेर उजुरीकर्तालाई बुझाएका छौं’, शाहीले जानकारी दिए।
हालसम्म हिरामोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरी दुई करोड १० लाख भन्दा बढि मूल्य बराबरको सामान बरामद् गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी ओमबहादुर रानाले जानकारी दिए।
रानाका अनुसार तीन जनाबाट नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको छ।
यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए। बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी भने अझै फरार छन्। हाल बरामद् गरिएको सम्पत्ति भन्दा अझै धेरै चोरीको सम्पत्ति ती व्यक्तिसँग हुने अनुमान प्रहरीले गरेको छ ।
‘हामी मुख्य आरोपीको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले भने, ‘अनुसन्धान जारी रहेको छ, सायद छिट्टै ती व्यक्ति पनि समातिन सक्छन्।’
मुख्य आरोपी भनिएका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ ।
जेठ १०, २०८३ आइतबार १०:४०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।