जनताको विश्वास जित्न हामी चुकेका छौं : मुख्यमन्त्री शाह
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जनअपेक्षाअनुसारको सेवा प्रवाह र सुशासन अनिवार्य रहेको बताएका छन्।
नागरिकले महसुस गर्ने गरी काम हुन नसकेको स्वीकार्दै उनले व्यवस्थाप्रति हुने गरेका नकारात्मक टिप्पणीको सन्दर्भमा आत्मसमीक्षा गर्नुपर्ने बताए।
शाहले भने, "जुन जनतालाई डेलिभरी दिएर विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने हो, त्यसमा हामी कहीँ न कहीँ चुकेका छौं भन्ने महसुस हामीले गरेका छौं।" उनले नेतृत्व तहले संविधानको भावनाअनुसार काम गर्न नसक्दा केही प्रश्न उठे पनि यस व्यवस्थाको विकल्प नरहेको दाबी गरे।
"अब गणतन्त्र संविधानको विकल्प, सङ्घीयताको विकल्प अन्य हुन सक्दैन भन्ने कुरामा जनतामा पनि विश्वास छ," उनले थपे। सङ्घीय सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले आवश्यक ऐन नियम निर्माणमा ढिलाइ भएको बताए।
शाहले भने, "सङ्घीय सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न सकेन कि भन्ने हामीलाई पनि आभास भइरहेको छ।" उनले विशेषगरी निजामती, प्रहरी प्रशासन र वन ऐनहरू सङ्घले निर्माण नगर्दा प्रदेशलाई समस्या परेको औँल्याए।
प्रदेश सरकार जनताको चाहना स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, "निमुखा पछाडि परेका जनताका आवाज राज्यका निकायले सुन्ने र त्यो तहसम्म पुर्याउने वातावरण पनि हामीले निर्माण गर्दै आएका छौं।" उनले साधन स्रोतले भ्याएसम्म जनचाहनाअनुसार काम गरे मात्र यो व्यवस्था संस्थागत हुने विश्वास व्यक्त गरे।
जेठ १०, २०८३ आइतबार १०:१७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।