प्रतिपक्षी दलहरूसँग संवाद स्वाभाविक, तर एलाइन्स बनाउने पक्षमा कांग्रेस नरहेको थापाको भनाई

प्रतिपक्षी दलहरूसँग संवाद स्वाभाविक, तर एलाइन्स बनाउने पक्षमा कांग्रेस नरहेको थापाको भनाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्घीय सरकारलाई घेराबन्दी गर्न प्रतिपक्षी दलहरूको नयाँ गठबन्धन बनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुनसरीमा आयोजना गरेको ‘जरा अभियान’को कोशी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो धारणा राखेका हुन्। पछिल्लो समय सञ्चारमाध्यममा आएका  लोकतान्त्रिक वा वाम गठबन्धनका चर्चाहरू केवल अड्कलबाजी मात्र भएको उल्लेख गर्दै उनले त्यस्ता समाचारमा सत्यता नभएको बताए।

“सङ्घमा हामी प्रतिपक्षमा छौं र संसद्मा साझा विषयहरूमा प्रतिपक्षी दलहरूबीच संवाद हुनु स्वाभाविक हो,” थापाले भने, “तर कुनै विपक्षी एलाइन्स बनाएर सरकारलाई घेराबन्दी गर्ने पक्षमा हामी छैनौं। संसद् र कानुनका कतिपय विषयमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिन सक्छन्।”

थापाले नागरिकको जनजीविकाका मुद्दामा कांग्रेसले सरकारसँग छलफल र संवाद गरेर सहकार्य गर्न चाहेको उल्लेख गरे। सरकारले संविधान सम्मत ढङ्गले ५ वर्षसम्म काम गर्न पाउनुपर्ने बताउँदै उनले अहिलेको प्राथमिकता राजनीतिक अस्थिरता नभई सेवा प्रवाह हुनुपर्नेमा जोड दिए।

सरकारले अगाडि बढाएको संविधान संशोधनको बहसप्रति असन्तुष्टि जनाउँदै उनले यस प्रक्रियालाई परिपक्व ढङ्गले अगाडि बढाउन सुझाव दिए। “संविधान संशोधनको वर्तमान बहस र तयारीमा कांग्रेसको चित्त बुझेको छैन,” उनले भने, “यसलाई अझ गम्भीर र परिपक्व बनाउन आवश्यक छ।”

प्रदेश सरकारका सन्दर्भमा सातै प्रदेशमा कांग्रेसको उपस्थिति रहेको चर्चा गर्दै उनले मधेश प्रदेशमा विश्वासको मतको अवस्थाले परिस्थिति केही फेरिएको भए पनि अन्यत्र अनावश्यक रूपमा सरकार फेरबदलको खेलमा लाग्न नहुने बताए। कांग्रेसले कसैसँग पनि अँध्यारोमा गएर भेटघाट र सम्झौता नगर्ने उनले बताए।  

जेठ ८, २०८३ शुक्रबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।