धोनी अर्को सिजन आईपीएल खेल्छन् कि खेल्दैनन्? कप्तान ऋतुराज गायकवाडले दिए यस्तो जवाफ

धोनी अर्को सिजन आईपीएल खेल्छन् कि खेल्दैनन्? कप्तान ऋतुराज गायकवाडले दिए यस्तो जवाफ

एजेन्सी : चेन्नई सुपर किंग्स (सीएसके) का कप्तान ऋतुराज गायकवाडले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को सिजनमा महेन्द्र सिंह धोनीको सहभागितालाई लिएर प्रतिक्रिया दिएका छन्।

आईपीएल इतिहासमा यो पहिलो पटक हो, जहाँ धोनीले सीएसकेका तर्फबाट सिजनको एउटा पनि लिग खेल खेलेनन्।

बिहीबार सीएसकेले यस सिजनको आफ्नो अन्तिम लिग खेल गुजरात टाइटन्सविरुद्ध खेलेको थियो। शुभमन गिलको कप्तानीमा रहेको गुजरातले उक्त खेलमा चेन्नईलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

खेल समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान गायकवाडलाई आगामी सिजनमा धोनी खेल्ने वा नखेल्ने भन्नेबारे सोधिएको थियो।

यस प्रश्नको जवाफ दिँदै गायकवाडले भने, ‘यसको उत्तर तपाईंले अर्को वर्ष नै थाहा पाउनुहुनेछ। मलाई पनि अर्को वर्ष नै थाहा हुनेछ। हामीले यो सिजन निश्चित रूपमा उहाँको अभाव निकै महसुस गर्यौँ।’

धोनीको खेल प्रभावबारे चर्चा गर्दै उनले थपे, ‘उहाँ विपक्षी टोलीमा डर पैदा गर्न सक्ने खेलाडी हुनुहुन्छ, विशेषगरी अन्तिम ओभरहरूमा। उहाँ क्रिजमा टिकेर मात्रै पनि खेल र त्यसको गति (मोमेन्टम) परिवर्तन गर्न सक्नुहुन्छ। त्यसैले यो सिजन हामीलाई उहाँको कमी निकै खड्कियो।’

​​​​​​​आगामी सिजनमा धोनीको उपस्थितिलाई लिएर उनले स्पष्ट पार्दै भने, ‘तर अर्को सिजनका बारेमा अहिल्यै केही भन्न सकिँदैन।’

जेठ ८, २०८३ शुक्रबार ०९:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।