सरकारसँग हर्क साम्पाङको प्रश्न : सहकारी पीडितलाई फिर्ता गर्न खोजिएको पैसाको स्रोत के हो?

सरकारसँग हर्क साम्पाङको प्रश्न : सहकारी पीडितलाई फिर्ता गर्न खोजिएको पैसाको स्रोत के हो?

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोतमाथि प्रश्न उठाएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संसद्मा बारम्बार प्रश्न गर्दा पनि प्रधानमन्त्री र मन्त्रीहरू संसद् बैठकमा उपस्थित नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे।

उनले भने, "हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं। सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गर्दैछौं भन्ने कुरामा हामीले थुप्रै प्रश्न राख्न खोजेको छौं।"

उनले सरकार सदनप्रति जवाफदेही नभएको र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाए।
 
उनले थप भने, "सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने। नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने, उत्तर दिन पनि अर्को मान्छे। यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ। जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ? प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो। त्यो कर्तव्यबाट सरकार भागेको छ।" 

आज पनि बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदले प्लेकार्ड देखाउँदै बिरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले हर्कराज राईलाई बोल्नका लागि समय दिएका थिए।

जेठ ६, २०८३ बुधबार १२:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।