कांग्रेस हेडलाइन पछ्याएर हिँड्ने दल होइन, राजनीतिलाई 'डिरेक्सन' दिने शक्ति हो: सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस निर्वाचनको नतिजाले मात्र नभई इतिहास र विचारका कारण सधैं 'राष्ट्रिय शक्ति' रहिरहने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने स्पष्ट पारे।
उनले कांग्रेस क्षणिक लाभ–हानिको राजनीति र सटकट बाटोको पछि लाग्न नहुने भन्दै राष्ट्रिय राजनीतिलाई प्रतिक्रिया दिने मात्र नभई स्पष्ट दिशा निर्देश गर्ने क्षमता पार्टीले राख्नुपर्नेमा जोड दिए।
उनले भने, "मेरो लागि नेपाली कांग्रेस पार्टी निर्वाचन जित्दा, हार्दा र नलड्दा पनि राष्ट्रिय शक्ति नै हो। राष्ट्रिय शक्ति भएकोले यसले हेडलाइनमा के निस्क्यो भनेर त्यसलाई पछ्याउँदै हिड्ने होइन। क्षणिक लाभ र हानीको कुराबाट प्रभावित भएर आफ्ना निर्णयहरु पनि गर्ने होइन र सटकटहरु खोज्ने पनि होइन। राष्ट्रिय राजनीतिमा उठेका कुराहरुमा प्रतिक्रिया व्यक्त गर्ने होइन डिरेक्शन दिने हो, त्यो सामथ्र्य राख्नुपर्छ।"
सभापति थापाले पार्टीभित्रको आन्तरिक एकता र असन्तुष्टिलाई सम्बोधन गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए।
उनले भने, "पार्टीको केन्द्रिय समितिको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको थुप्रै ठूलो पंक्ति बाहिर छ। जति नेताहरु हुनुहुन्न उहाँहरु चाहनु हुन्छ भने ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जुन ठाउँमा राख्नुपर्ने हो सँगै लिएर काम गर्न चाहन्छु।"
आफूले सार्वजनिक मञ्चदेखि नेताहरूको घरघरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गरिरहेको दाबी थापाले गरे।
विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि सँगै लिएर हिँड्न खोज्दा खोज्दै पनि सभापतिले एकताको प्रयास नगरेको वक्तव्य दिने गरेको भन्दै उनले असन्तुष्टि जनाए।
उनले भने, "हातै जोडेर भनेँ, मेरा अग्रज नेताहरूलाई। अघि यहाँ कुरा भयो अरे, मिलाउन प्रयास नै भएन। मलाई भनिदिनुस्- के गर्यो भने प्रयास हुने हो, अहिले के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन!"
नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार कर्णाली प्रदेशस्तरीय भेलामा बोल्दै नेतृत्वको कमजोरीका कारण पार्टी विभाजनको संघारमा पुगेको बताएका थिए।
जेठ ३, २०८३ आइतबार १६:४३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।