पशुपति सहकारीका १७ सञ्चालकविरुद्ध मुद्दा दर्ता, पौने १९ करोड अपचलनको आरोप

पशुपति सहकारीका १७ सञ्चालकविरुद्ध मुद्दा दर्ता, पौने १९ करोड अपचलनको आरोप

काभ्रेपलाञ्चोक : सहकारीको १८ करोड ७६ लाख बढी अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका- ७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्धविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो।

बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ।

जिल्ला न्यायाधिवक्ता टीकाभुषण घिमिरेका अनुसार दर्ता मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई पीडितको बचत रकम फिर्ता गराउन अभियोगमा माग गरिएको छ। आरोपित भने सबै फरार छन्। सहकारी ठगी अभियोगमा सहकारीका सञ्चालक समिति, कर्मचारी तथा पूर्व अध्यक्षहरूसमेत गरी १७ जना संलग्न भएको उल्लेख गरिएको छ।

अभियोग दर्तामा सहकारीका अध्यक्ष भुम्लु गाउँपालिका घर भई बनेपा बस्ने ४३ वर्षीय पानबहादुर श्रेष्ठ, उपाध्यक्ष पनौती नपा-७ की ५१ वर्षीया विन्देश्वरी कायस्थ मधिकर्मी, प्रबन्ध निर्देशक एवं व्यवस्थापक भक्तपुर सूर्यविनायक नपा-८ का ३९ वर्षीय राजाराम सकुपायो, सञ्चालकहरू भक्तपुर सुर्यविनायक-८ कै ३९ वर्षीया लक्ष्मीकुमारी श्रेष्ठ, सिन्धुपाल्चोकका ३२ वर्षीय रुकेश श्रेष्ठ लेखा प्रमुख भक्तपुर सिपाडोल निवासी ३५ वर्षीया प्रमिला मानन्धर रहेका छन्।

यस्तै ऋण अधिकृत बनेपा-९ का ३६ वर्षीय रामसुन्दर बस्नेत, सञ्चालकहरू बनेपा-४ का ४० वर्षीय जयगोपाल श्रेष्ठ, खानीखोला गाउँपालिका-६ का ४१ वर्षीय कृष्णप्रसाद घिमिरे र बनेपा-४८ का ३३ वर्षीय मनिष श्रेष्ठ, बजार अधिकृत बनेपा-७ का ३५ वर्षीय प्रदीप शाहीलगायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई प्रहरीले आफूले लिएको ऋण तिर्न अनुरोध गर्दै आएको छ। प्रहरीले हालैमात्र उक्त पशुपति सहकारी बनेपा नपा-७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको थियो।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ। उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेको जनाइएको छ। अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ। 

चैत १३, २०८२ शुक्रबार २२:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।