प्रधानमन्त्री बालेनको ‘विज्ञ’ टोली : भुइँतहबाट उठेकी सीतादेखि ‘पीएचडी स्कलर’ दीपकसम्म

प्रधानमन्त्री बालेनको ‘विज्ञ’ टोली : भुइँतहबाट उठेकी सीतादेखि ‘पीएचडी स्कलर’ दीपकसम्म

काठमाडौं : फागुन २१ सम्पन्न निर्वाचनमा करिब दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा सरकार गठन गर्यो।

प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए। जसमध्ये पाँच मन्त्रीको बारेमा हामी यहाँका चर्चा गर्दैछौँ।​

बिराजभक्त श्रेष्ठ
मन्त्रीको रूपमा श्रेष्ठको यो पहिले अनुभव होइन। युवा तथा खेलकुद मन्त्रीको रूपमा उनले यसअघि नै मन्त्रीमण्डलमा सहभागी भइसकेका छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट जितेका श्रेष्ठले विवेकशील नेपालीबाट राजनीतिक यात्रा तय गरेका हुन्। उज्ज्वल थापा निकट रहेर काम गरेका उनले वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ स्थापना गरी ‘वान ट्री-मेरो जिम्मेवारी’ अभियान चलाएका थिए।

२०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट जितेका थिए। उक्त समय रास्वपा सरकारमा सहभागी हुँदा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए। त्यतिबेला खेलकुद क्षेत्रको सुधार र खेलाडीहरूको मनोबल बढाउने प्रयास गरेको भन्दै उनको चर्चा भएको थियो। 

आर्थिक वर्ष २०८०/ २०८१ को बजेटले चेस, बागचाल र लुडो खेलाउन पुग्ने अभिव्यक्ति दिएका थिए। त्यसपछिको दुई वर्षपछि सरकारले खेल क्षेत्रको लागि बजेट बढाएको थियो।

प्रदेश सभामा रहँदा उनले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन भूमिका खेलेका थिए। त्यस्तै, तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकविरुद्ध उनले सडक र सदन दुवै ठाउँबाट सशक्त आवाज उठाएका थिए। 

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पुनः काठमाडौं ८ बाट जित निकालेका श्रेष्ठ बालेन्द्र शाहको मन्त्रीमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएका छन्।

श्रेष्ठको शैक्षिक योग्यता वाणिज्य तथा व्यापार प्रशासनमा स्नातक गरेका छन्। अध्ययन पछि होटल तथा रेस्टुरेन्टको व्यवस्थापनमा काम गरेका उनी २०७२ को भूकम्पपछि समाजसेवामा जोडिँदै राजनीति यात्रा सुरु गरेका थिए।

सीता वादी
बालेन शाहको मन्त्रिपरिषद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र मन्त्री सीता वादी बनेकी छन्। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।

कर्णाली प्रदेशमा बसोबास रहेको यो समुदाय राज्यको मूल प्रवाहबाट पछाडि छ। विशेषगरी नदी किनार र खुल्ला जमिनमा यस समुदायको स्थायी बसोबास रहेको पाइन्छ।

रास्वपाबाट समानुपातिकमा दलित क्लस्टरमा परेकी सीता अध्ययनको यात्रा निक्कै कष्टकर छ। १२ वर्षको उमेरमा एक संस्थाले खाने, लाउने र पढ्ने व्यवस्था गरेपछि उनी अहिलेको अवस्थामा पुग्न पाइन्।

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ११ को झुप्रा खोलामा जन्मिएकी सीतालाई संसदको यात्रासम्म आउँदा सहज भने थिएन। गरिबी त छदै थियो, छुवाछुत र अपहेलनाबाट उठेर आज सदनसम्म आएकी छिन्।

सीता पहिलो पटकमै सांसद बनिन्न भने पहिलो पटकमै मन्त्रीसमेत बनिन्। अभाव, अवहेलना र गरिबीका बीचबाट पनि उनले अध्ययनलाई निरन्तरता दिइन्। उनले राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छिन्। भने रास्वपाको समानुपातिक सूचीमा पर्नु पूर्व पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहेकी थिइन्।

प्रतिभा रावल 
रास्वपाको सह-प्रवक्ता प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बनेकी छन्। खस आर्य क्लस्टरबाट समानुपातिक सूचीमा परेकी रावल पहिलो प्रयासमै सांसद र मन्त्री बन्न सफल भएकी छिन्। 

कञ्चनपुरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी रबी लामिछाने र जीबी राईले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन्। पछि रबी राजनीतिमा आएपछि उनी पनि रबीसँगै जोडिएकी थिइन्। उनीसँग साउथ एसिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ।

रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा रहेर काम गरिसकेकी छिन्। पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी सचिवालयमा थिइन्। उनीसँग निकट रहेर कार्यसम्पादन गरेकी थिइन्।

स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हालेकी निशा मेहताले नर्सिङ विद्यामा स्नातकोत्तर तह अध्ययन गरेकी छन्। विराटनगरस्थित बिराट टिचिङ अस्पतालमा समेत काम गरेकी उनी रास्वपाबाट दोस्रो प्रयासमा सांसद बनेकी हुन्।
 
रास्वपाले २०७९ मा पनि समानुपातिक सूचीमा राखेको थियो। तर, उनी सांसद भइनन्। मन्त्री मेहता यस पटक भने रास्वपाको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यको रूपमा सांसद बनेकी हुन्। उनी रास्वपाको स्थापनाकालदेखि नै उनी रास्वपामा सक्रिय थिइन्।

२०४४ मा जन्मिएकी सुनसरीको इनरुवाकी उनी रास्वपा केन्द्रीय सदस्यसमेत समेत छन्। मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी हुन्। मेहताले विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिइन्।

खरिद लगायत अनियमितताका विषयमा तपाईं के गर्नु हुन्छ? भन्ने उकेराको जिज्ञासामा नवनियुक्त स्वास्थ्य मन्त्री मेहताले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा हामी खरिदतिर चाहिँ बढी लाग्छौँ तर मेन्टेनेन्समा ध्यान दिँदैनौं।’

उनले बिग्रिएका सामग्री मर्मतका लागि बजेट नछुट्याउने तर नयाँ खरिद तिरै बढी केन्द्रित हुने देखिएकाले नयाँ खरिद भन्दा मर्मतका लागि बजेट छुट्याउने विशेष ध्यान दिने उनले बताइन्। उनले नातावाद र कृपावाद समेत नहुने प्रतिबद्धता जनाएकी छन्।

दीपक साह
महोत्तरी- २ बाट निर्वाचित रास्वपाका सांसद दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीलाई २२ हजार पाँच सय २५ मतान्तरले साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। साहले ३२ हजार सात सय २२ मत ल्याउँदा भण्डारीले दश हजार एक सय ९८ मत मात्रै ल्याएका थिए।

उनले दृष्टि रोग ‘मास्टर्स इन अप्टोमेट्री (आइओएम) अध्ययन गरेका हुन्। साहले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’ रहेको समेत उनले बताएका छन्।

लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङमा एमएस्सी समेत गरेका छन्। नेपाल ल क्याम्पसबाट एलएलबी समेत गरेका उनी विश्व स्वास्थ्य संगठन र युके हेल्थ सेक्युरिटी एजेन्सी जस्ता निकायमा समेत आबद्ध भएर काम गरेको अनुभव रहेको साहले बताएका छन्।

यो पनि:

चैत १३, २०८२ शुक्रबार १७:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।