कानुन पढेकी सोविता अब कानुनमन्त्री

कानुन पढेकी सोविता अब कानुनमन्त्री

काठमाडौं : सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी छन्। २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी उनी जेनजी आन्दोलन पछि भएको चुनावमा चितवनबाट लडेकी थिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीमा सुरुदेखि नै आबद्ध गौतमको राजनीतिप्रति चाख भने सानैदेखि थियो। एसोसिएसन अफ यूथ नेपालको अध्यक्षको उम्मेदवार बनेर पराजित हुँदा गौतमलाई निकै चित्त दुखेको थियो। पहिलो महिला अध्यक्ष बन्ने उनको लक्ष्य पुरा भएन त्यहाँ।

गौतमको जीवनचक्रलाई केही महिना अगाडि फर्काउने हो भने उनी कतै कार्यक्रम चलाइरहेको अवस्थामा भेटिन सक्थिन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कुनै कोठामा ऐन/नियम पल्टाइरहेको भेटिन सक्थिन्।

उनी अनुभवले मात्र होइन, प्रतिस्पर्धीको राजनीतिक यात्राको तुलनामा समेत उनको उमेर कमै हो। युवाहरूको सञ्जालमा रहेर काम गरेको अनुभव थियो, उनीसँग। कानुनको औपचारिक ज्ञान लिएकी उनमा नेपाल टेलिभिजनमा कार्यक्रम चलाएको अनुभव र विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा बोल्ने कला तिखारिइसकेको थियो।

"छोटो इतिहास बोकेको अमेरिका आज कहाँ छ। हामीले चामल दान दिएको दक्षिण कोरिया कहाँ छ?, दोस्रो विश्वयुद्धले ध्वस्त भएको जापान आज कहाँ छ?" उनले भनेकी थिइन्, "हाम्रो देशको विकास किन भएन? हिजो लिक्ष्छवीकालमा स्वर्णकाल मानिन्थ्यो हाम्रो देश आज किन गरिब भयो? हाम्रो हरियो पासपोर्टको भ्यालु किन कमजोर भयो? अब यो देश बनाउन शीर्ष नेताले छाड्नु पर्छ।"

उनले भाषणमा प्रश्न मात्रै सोधेकी थिइनन्। त्यसको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएको र आफू जस्तै सोविताहरु देशको बिँडो धान्न सक्षम रहेको दाबी गरेकी थिइन्।

"छाना टाल्न बिदेसिएका नेपालीहरू देशको भ्वाङ टाल्न फर्किनुपर्छ। अक्सफोर्ड क्याम्ब्रीज जस्ता युनिर्भसीटीहरुमा पढाइरहनु भएका नेपालीहरू त्रिभुवन विश्वविद्यालयमा पढाउन फर्किनु पर्छ। अमेरिका जापान बेलायतका अस्पतालमा काम गर्नुभएका स्वास्थ्यकर्मीहरू जुम्ला,हुम्ला कालिकोटका अस्पतालमा काम गर्न फर्कनु पर्छ," उनले भनेकी थिइन्।

दोलखाको तामाकोसी गाउँपालिका जामुनेमा २०५२ मा जन्मिएकी उनको काठमाडौं-२ सँगको सम्बन्ध त्यति पुरानो हैन। सोविताले २०६६ मा भक्तपुरको गट्ठाघरमा रहेका विद्यादायिनी स्कुलमा अध्ययन गरिन्। त्यहीबाट एसएलसी उत्तीर्ण गरिन्।

५ वर्षे बिएएललबी सकाएर अधिवक्ता भइन्। पाँच वर्ष नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार कार्यक्रम चलाइन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सहायक कानुनी सल्लाहकारका रूपमा काम सुरु गरिन्।

विद्यार्थीकालमा पढाई सँगसँगै नेतृत्व विकासको तालिममा सहभागी भइन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ-संस्थामा जोडिएर युवाको क्षेत्रमा काम गर्न थालिन्। एसोसिएसन अफ यूथ लिडरमा काम गरिन्। र राजनीतिमा प्रवेश गरेको छोटो समयमा माननीय बनिन् भने मन्त्री समेत बनिन्।

कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्व सदस्यका रूपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छन्। उनले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिइन्।

युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छन्। निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन्।

सन् २०२३ मा ‘वन यङ वल्र्ड-पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भइन्। रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक-केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छन्। 

चैत १३, २०८२ शुक्रबार १६:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।