प्रधानमन्त्री बालेनलाई पूर्व प्रधानमन्त्रीहरू ओली र देउवाको बधाई

प्रधानमन्त्री बालेनलाई पूर्व प्रधानमन्त्रीहरू ओली र देउवाको बधाई

काठमाडौ : पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'लाई बधाई दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुवै पूर्व प्रधानमन्त्रीले शाहको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। 

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई शुभकामना दिँदै लेखेका छन्, "राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।"

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ओली र शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धी हुन्। उक्त निर्वाचनमा ओलीलाई पराजित गर्दै शाह निर्वाचित भएका थिए। नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा भने ओलीको उपस्थिति थिएनन्।

यसैगरी, नेपाली कांग्रेसका पूर्व सभापति देउवाले पनि शाहलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिए। स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हाल हङकङमा रहेका उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्। 

देउवाले लेखेका छन्, "राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।" देउवाले प्रधानमन्त्री शाहसँगै मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई समेत बधाई तथा सफलताको शुभकामना दिएका छन्। 

चैत १३, २०८२ शुक्रबार १५:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।