शपथ ग्रहण समारोहमा बालेन : रवि र सुशीलासँग अंकमाल, अरुसँग नमस्कार र ह्यान्ड्सेक
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहणपछिको बधाई आदानप्रदानका क्रममा विशेष आत्मीयता र सम्मान प्रदर्शन गरेका छन्।
उनले पार्टी सभापति रवि लामिछाने र निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई अंकमाल हालेर बधाई ग्रहण गर्दा अन्य विशिष्ट व्यक्तिहरूसँग हात मिलाउने र नमस्कारमै सीमित रहे।
शपथ ग्रहण जस्तो औपचारिक कार्यक्रममा देखिएको यो अनौपचारिक क्षणले सबैको ध्यान तानेको थियो।
निवर्तमान प्रधानमन्त्री कार्कीले बालेनलाई नमस्कार गर्दा उनले अघि बढेर अंकमाल गरेका थिए। बालेनले अंकमाल गर्दा कार्की केही भावुक बनेकी थिइन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेर निर्वाचन सम्पन्न गराएकी कार्की र बालेनबीच यसबीचमा पटक-पटक संवाद भएको थियो।
यसअघि सम्पादकहरूसँगको एक संवादमा निवर्तमान प्रधानमन्त्री कार्कीले आफूले बालेनलाई ‘छोरो’ भनेर सम्बोधन गर्ने गरेको तर उनले आफूलाई ‘दिदी’ भन्ने गरेको बताएकी थिइन्।
यस्तै पार्टी सभापति लामिछानेसँग अंकमाल गर्दा दुवै नेताको अनुहारमा जितको मुस्कान थियो।
यसका अलावा प्रधानमन्त्री शाहलाई बधाई दिने क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनलाई कागजमा केही लेखेर दिएका थिए।
चैत १३, २०८२ शुक्रबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।