सांसदहरूको शपथसँगै सिंहदरबारमा बढ्यो चहलपहल
काठमाडौं : जेनजी आन्दोलनपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा छाएको सन्नाटा बिहीबारदेखि तोडिएको छ।
सडकमा व्यक्त असन्तुष्टि र परिवर्तनको चाहना निर्वाचनमार्फत नयाँ जनादेशमा रूपान्तरण भएसँगै सिंहदरबारमा चहलपहल फर्किएको हो। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको लागि बिहीबार बिहानैदेखि सिंहदरबारमा पुग्नेक्रम सुरु भयो।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सबै सांसदहरूलाई आग्रह गरेको थियो। सोहीअनुसार नै सबै राजनीतिक दलका सदस्यहरू समयमा सिंहदरबार उपस्थित भएका थिए।
शपथका लागि विभिन्न राजनीतिक दलगत रूपमा तथा विभिन्न जातजाति र भेषभूषा झल्किने गरी प्रतिनिधिसभा सदस्यहरू उपस्थित भएका थिए। साथै पहिलो पटक सांसद बनेकाहरूसँग कतिपय आफन्त तथा साथीभाइहरू पनि सो शपथ समारोह हेर्नका लागि पनि कैयौँ व्यक्ति आएकाले पनि सिंहदरबारमा ठूलो सङ्ख्याका मानिसको उपस्थिति थियो।
सिंहदरबारको मूल गेटमा आज भने बिहान १० बजेदेखि नै मानिसहरू भित्र छिर्ने भीड बढेको देखिएको थियो। यसअघि जस्तै सिंहदरबारका पश्चिम एवं दक्षिण गेटबाट नै बिहीबार मानिसहरू प्रवेश गरेका थिए।
बिहीबार परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको बीचबाट संसद् भवन छिर्ने बाटोको प्रबन्ध गरिएको थियो। अपराह्न १ बजेपछि संसद् भवन छिर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि भने परराष्ट्र मन्त्रालयको गेट अगाडि नै भीड रोकिएको थियो। सो गेटबाट सीमित सङ्ख्याका फोटो पत्रकार एवं अन्य सञ्चारकर्मीहरूलाई मात्र भित्र प्रवेश दिइएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।
संविधानसभा निर्वाचनबाट ६०१ जना संविधानसभा सदस्य चुनिएर आएपछि सिंहदबारस्थित पुरानो संसद् भवनमा बैठक बस्न नमिल्ने भएपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो। यस पटक भने सो भवनमा क्षति पुगेकाले अबदेखि संसद् बैठक नवनिर्मित भवनमा सारिएको हो।
चैत १२, २०८२ बिहीबार २२:३४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।