गुडिरहेको एम्बुलेन्सभित्रै उपचार, दैलेखका डा. विश्वकर्माले बचाए युवकको ज्यान

गुडिरहेको एम्बुलेन्सभित्रै उपचार, दैलेखका डा. विश्वकर्माले बचाए युवकको ज्यान

दैलेख : दुर्गम क्षेत्रका सरकारी अस्पतालमा चिकित्सकहरू जान नमान्ने र सेवा प्रभावकारी नहुने आम गुनासो व्याप्त रहेका बेला दैलेख अस्पतालका एक चिकित्सकले उच्च व्यावसायिक धर्म देखाएका छन्। अस्पतालका इन्चार्ज डा. मनोज विश्वकर्माको टोलीले सदरमुकामदेखि ११० किलोमिटर टाढा पुगेर गुडिरहेको एम्बुलेन्सभित्रै आपत्कालीन उपचार गरी एक युवकलाई मृत्युको मुखबाट बचाएको छ।

बुधबार राति दैलेखको आठबीस नगरपालिका–७ गैराखेतमा ३१ वर्षीय जिराबहादुर चन्दले २७ वर्षीय जीवन चन्दमाथि धारिलो हतियार प्रहार गरेका थिए। मदिरा सेवन गरी भएको सामान्य विवाद र पुरानो रिसइबीका कारण भएको उक्त आक्रमणमा जीवनको नाडी नै छिनाल्ने प्रयास गरिएको थियो।

सदरमुकामदेखि निकै टाढा र सञ्चार सम्पर्क विहीन क्षेत्रमा घटना घटेकाले घाइतेलाई समयमै अस्पताल पुर्याउनु निकै चुनौतीपूर्ण थियो। घाइतेको अवस्था नाजुक रहेको र अत्यधिक रक्तस्राव भइरहेको जानकारी पाउनासाथ डा. विश्वकर्माको टोली बिरामी कुरेर बस्नुको साटो आफैँ औषधि र उपकरणसहित घटनास्थलतर्फ लागेका थिए। 

डा. विश्वकर्माको टोलीले सात्तलाको पुलबजारमा एम्बुलेन्स भेटेपछि सो एम्बुलेन्समा चढी गुडिरहेकै अवस्थामा प्राथमिक शल्यक्रियात्मक उपचार गरी रक्तस्राव रोक्न सफल भएको थियो।

“घाइते बोल्न सक्ने अवस्थामा थिएनन्, गम्भीर चोटले गर्दा रगत धेरै बगिसकेको थियो। यदि हामी बाटोमै नपुगेको भए रक्तअल्पताका कारण बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम थियो,” डा. विश्वकर्माले भने। घाइतेको अवस्था स्थिर भएपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. ईश्वर बलामीका अनुसार बाटोमा डा विश्वकर्माको टोलीले गरेको उपचारका कारण बिरामीको ज्यान बचाउन ठुलो मद्दत पुगेको छ। यद्यपि, चोट गहिरो भएकाले थप विशेषज्ञ उपचारका लागि घाइतेलाई काठमाडौँ ‘रिफर’ गरिएको उनले बताउए।

घटनाका अभियुक्त जिराबहादुर चन्दको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार फरार अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

चैत १२, २०८२ बिहीबार १३:३३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।