कार्की आयोगको प्रतिवेदनमाथि ज्ञानेन्द्र शाहीको टिप्पणी- ‘दोषी सत्तापक्षको होस् वा प्रतिपक्ष, कारबाही हुनैपर्छ’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनबारे गठित कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरू सत्तापक्ष वा प्रतिपक्ष जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो अडान राखेका हुन्।
आयोगको प्रतिवेदन कार्यान्वयनबारे सोधिएको प्रश्नमा नेता शाहीले भने, ‘दोषी सत्तापक्षको भए पनि प्रतिपक्षीको भए पनि उनीहरुविरुद्ध कारबाही हुनुपर्छ।’
भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।
सोही आयोगले हालै सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ, जसमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुबेर खापुङ लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
यसका अलावा शाहीले आफूहरू सदनमा रचनात्मक प्रतिपक्षीको भूमिकामा रहेर काम गर्ने समेत बताए। संख्या थोरै भए पनि संसदमा सशक्त रूपमा प्रस्तुत हुने उनको भनाइ छ।
चैत १२, २०८२ बिहीबार १३:२५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।