नेपालमै पहिलो पटक ‘रिट्रिभल मेडिसिन’ तालिम, हेलिकप्टरबाट हुने उद्धारलाई सुरक्षित बनाइने दाबी

नेपालमै पहिलो पटक ‘रिट्रिभल मेडिसिन’ तालिम, हेलिकप्टरबाट हुने उद्धारलाई सुरक्षित बनाइने दाबी

काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिससँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी उन्नत तालिम आयोजना गर्ने भएको छ।

यही चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने यो निःशुल्क तालिमले गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण, विशेषगरी हेलिकप्टर उद्धार प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

अस्पतालका इमर्जेन्सी प्रमुख डा. सञ्जय कार्कीका अनुसार, तालिममा हेलिकप्टरभित्र बिरामीको व्यवस्थापन र यात्रा अवधिभर गरिने हेरचाहबारे व्यावहारिक अभ्यास गराइनेछ।

स्कटल्याण्डका विशेषज्ञहरूले दिने प्रशिक्षणमा स्वीट्जरल्याण्ड, भारत र जापानका चिकित्सकहरूले पनि आफ्ना अनुभव सुनाउनेछन्। तालिममा विभिन्न प्रतिष्ठित अस्पतालका करिब ३० जना विशेषज्ञ स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस्ता कार्यक्रमले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

साथै, प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले तालिमबाट प्राप्त ज्ञान र सीपलाई उपचारमा प्रयोग गर्न जोड दिँदै यसले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने बताए।

चैत १२, २०८२ बिहीबार १२:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।