आयरल्यान्डको क्रिकेट टोली अगस्टमा नेपाल आउने, एकदिवसीय र टी-२० सिरिज खेल्ने पक्का

आयरल्यान्डको क्रिकेट टोली अगस्टमा नेपाल आउने, एकदिवसीय र टी-२० सिरिज खेल्ने पक्का
फाइल तस्बिर

काठमाडौं : आयरल्यान्डको राष्ट्रिय पुरुष क्रिकेट टोली आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र क्रिकेट आयरल्यान्डले सार्वजनिक गरेको सन् २०२६ को वार्षिक खेल तालिकाअनुसार आयरल्यान्डले नेपालसँग ह्वाइट बलको शृङ्खला खेल्ने निश्चित भएको हो।

यो भ्रमण नेपाल क्रिकेट संघ र क्रिकेट आयरल्यान्डबीच भएको पाँच वर्षे रणनीतिक साझेदारीको एक हिस्सा हो।

जसअनुसार दुवै देशले एकअर्काको क्रिकेट विकासमा सहयोग गर्ने र नियमित रूपमा द्विपक्षीय सिरिज खेल्ने सम्झौता गरेका छन्।

आयरल्यान्डले अगस्टमा अफगानिस्तानसँगको सिरिज सकेलगत्तै नेपालको भ्रमण गर्ने तालिका छ। आईसीसीका अनुसार यो सिरिजले दुवै टोलीलाई आगामी ठूला प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

विशेष गरी नेपालमा खेलिने यो शृङ्खलाले नेपाली क्रिकेटको पूर्वाधार र अन्तर्राष्ट्रिय एक्सपोजरलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले छिट्टै यस सिरिजको आधिकारिक मिति र खेल तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

चैत १२, २०८२ बिहीबार १२:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।