म पनि मान्छे हुँ, गल्ती हुन्छ, तर अहिले मानसिक रूपमा बलियो छु : पृथ्वी श
एजेन्सी : आईपीएल २०२५ को अक्सनमा कुनै पनि टिमको रोजाइमा नपरेका भारतीय ब्याटर पृथ्वी शअ अन्ततः दिल्ली क्यापिटल्समा फर्किएका छन्। सन् २०२३ र २०२४ को सिजनमा दिल्लीका लागि खराब प्रदर्शन गरेका शअले दुई सिजनको १६ इनिङ्समा जम्मा ३०४ रन मात्र बनाएका थिए।
तर, आगामी आईपीएल २०२६ अघि उनले क्रिकेटबाट लिएको ‘ब्रेक’ले आफूलाई थप फ्रेस र बलियो बनाएको बताएका छन्।
आफ्नो विश्रामको समयबारे बोल्दै शले भने, ‘मैले आफ्नो जीवनको धेरै आनन्द लिएँ। दिमागलाई रिफ्रेस बनाउन केही ठाउँहरू घुम्न गएँ। त्यसपछि फर्केर पुरानै रुटिनमा कडा मिहिनेत गर्न थालेँ। ट्रेनिङ होस् वा ब्याटिङ, पहिले जे गर्थें, त्यसको तीन गुणा बढी अभ्यास गर्न थालेँ। आफूलाई मानसिक रूपमा बलियो बनाउन मलाई यो ब्रेकको आवश्यकता थियो।’
आईपीएल २०२४ को बीचमै खराब फर्मका कारण दिल्लीले उनलाई प्लेइङ-११ बाट बाहिर राखेको थियो। त्यसपछि घरेलु क्रिकेटमा मुम्बईको टिमले पनि उनलाई निकाल्यो। त्यतिबेला मुम्बईका कप्तान श्रेयस अय्यरले 'शअले आफ्नो कामप्रतिको नैतिकता (वर्क इथिक्स) सुधार्न जरुरी रहेको' बताएका थिए। अन्ततः मुम्बई छाडेर उनले हालैको घरेलु सिजन महाराष्ट्रबाट खेलेका थिए।
आफूमाथि उठेका प्रश्न र आलोचनाहरूबारे बोल्दै शअले भने, ‘म एउटा मान्छे हुँ, मबाट पनि गल्तीहरू हुन्छन्। बाहिर जे लेखिन्छ वा बोलिन्छ, मानिसहरूलाई त्यसको आधा कुरा मात्र थाहा हुन्छ। मेरो परिवार र नजिकका साथीहरूलाई मेरो बारेमा सबै कुरा थाहा छ।’
उनले सामाजिक सञ्जाल र पत्रपत्रिकामा आउने कुराहरूले आफूलाई असर गर्ने भएकाले ती कुराहरू हेर्नै छाडेको बताए।
उनले भने, ‘ती कुराहरूले मलाई क्रिकेटबाट टाढा राख्थे। तर मलाई आफूमाथि विश्वास थियो किनभने म कहाँबाट आएको हुँ र कति मिहिनेत गरेको छु भन्ने मलाई थाहा छ। मान्छेबाट गल्ती हुन्छ, ठीक छ, अगाडि बढ्नुपर्छ। ती सबै पुराना कुरा हुन्, इतिहास बनिसके। अहिले मलाई मैदानमा आउँदा मानसिक रूपमा धेरै खुसी मिल्छ।’
चैत १२, २०८२ बिहीबार १०:५३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।