आफैँ मातहत काम गरेका तीन प्रहरीको बढुवा र अन्य छ कर्मचारीलाई मानपदवीले सम्मान गर्न कार्की आयोगको सिफारिस

आफैँ मातहत काम गरेका तीन प्रहरीको बढुवा र अन्य छ कर्मचारीलाई मानपदवीले सम्मान गर्न कार्की आयोगको सिफारिस

काठमाडौं : भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले आफ्नै कमर्चारीलाई सम्मान गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा आन्दोलनका क्रममा ज्यान जोखिममा राखेर बहादुरीपूर्ण काम गर्ने प्रहरी कर्मचारी, सर्वसाधारण नागरिक, सरकारी अधिकारीका साथै आयोगमै रहेर उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत र बढुवा गर्न सिफारिस गरिएको छ।

आयोगले तयार पारेको प्रतिवेदनअनुसार आयोगको काममा खटिएर उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरीलाई एक तह बढुवा गर्न र गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयका अन्य ६ जना गरी जम्मा ९ जनालाई मानपदवी तथा नगद पुरस्कारका लागि सिफारिस गरिएको छ।

आयोगमा काम गर्ने ३ प्रहरीलाई बढुवा र ६ जनालाई मानपदवी सिफारिस
प्रतिवेदनअनुसार आयोगमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयका प्रहरी हवल्दार जयकिशन प्रसाद कुर्मी, प्रहरी सहायक हवल्दार नवराज नेपाली र प्रहरी सहायक हवल्दार हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्न सिफारिस गरिएको छ।

त्यसैगरी, मानपदवी तथा नगद पुरस्कारका लागि गृह मन्त्रालयका सहसचिव प्रकाश पौडेल, उपसचिव कमल पाण्डे र कम्प्युटर अपरेटर जानु थापालाई सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोती, डीएसपी मुकेशकुमार तिवारी र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गजेन्द्र रावललाई पनि मानपदवी र नगद पुरस्कारको सिफारिस गरिएको छ।

ज्यान जोखिममा राखेर प्रहरीलाई बचाउने साहसी नागरिक
प्रतिवेदनको सबैभन्दा मार्मिक पक्ष भनेको आन्दोलनको भिडबाट प्रहरीको ज्यान बचाउने सर्वसाधारण नागरिकको योगदान हो।

भदौ २४ गते कोटेश्वरस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आक्रमण गर्दा भागेका प्रहरीहरूलाई स्थानीय ‘होटल स्वर्णिम’का सञ्चालक शिवराम बाँडाले आफ्नो होटलमा लुकाएर, ताला लगाएर र खाना तथा कपडाको व्यवस्था गरी ज्यान बचाएको भन्दै उनलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ।

त्यस्तै, कोटेश्वरमै घडी पसल सञ्चालन गर्ने गीता कुमारी साहले प्रदर्शनकारीको घेरामा परेर मारिन लागेका प्रहरी हवल्दार चिज कुमार कुमाललाई बचाएकी थिइन्।

उनले आफ्नो ज्यानको बाजी लगाएर प्रहरीलाई बचाउन खोज्दा उनी आफैँ जलेर घाइते भएकी थिइन्। उनको यो अदम्य साहसको उच्च मूल्यांकन गर्दै आयोगले पुरस्कारको सिफारिस गरेको छ।

स्ट्रेचरमै बसेर परीक्षा दिने विद्यार्थीलाई एमबिबिएस छात्रवृत्ति
भदौ २३ गते बानेश्वरको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी एकता शाहको साहसलाई पनि प्रतिवेदनले समेटेको छ।

घाइते अवस्थामा स्ट्रेचरमै बसेर एमबिबिएसको प्रवेश परीक्षा दिई उत्तीर्ण भएको उनको साहसको कदर गर्दै आयोगले उनलाई विशेष छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाउन सरकारसमक्ष सिफारिस गरेको छ।

हतियार, कार्यालय र कारागार जोगाउने अधिकारीहरू
आन्दोलनको उग्र भिडसँग मुकाबिला गरी राज्यको हतियार, कार्यालय र महत्त्वपूर्ण संरचना जोगाउने प्रहरी तथा प्रशासनका अधिकारीहरूलाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ।

जसमा भदौ २३ गते राति काठमाडौंको ट्रमा सेन्टर जलाउन लागेको भिडलाई रोकेर अस्पताल बचाउने जनसेवा वृत्तका डीएसपी कृष्णकुमार चन्द र भदौ २४ गते प्रहरी प्रधान कार्यालय नक्सालमा आक्रमण गर्न खोज्ने भिडलाई रोक्ने प्रहरी अतिरिक्त महानिरिक्षक सिद्धिविक्रम शाह रहेका छन्। 

यसैगरी, कार्यालय र हतियार जोगाउन सफल भएकोमा कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालीमाटी वृत्तका डीएसपी मधु थापा, मालीगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकी चिनीमाया तामाङ र ठिमी वृत्तका नवराज ढुङ्गानालाई पनि पुरस्कृत गर्न भनिएको छ।

साथै, भिडलाई नियन्त्रण गरी कारागारमा तोडफोड हुन नदिई कैदीहरू भाग्नबाट रोक्न सफल भएकोमा पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदी र भीमफेदी कारागारका जेलर सुबास पौडेललाई पनि आयोगले पुरस्कारको सिफारिस सूचीमा राखेको छ।

चैत १२, २०८२ बिहीबार १०:२४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।