उम्मेदवार देव भन्छन्- ‘पैसा दिने सर्तमै एभिन्यूज टिभीसँग अन्तर्वार्ता भएको हो, तर अहिलेसम्म तिरेको छैन’

उम्मेदवार देव भन्छन्- ‘पैसा दिने सर्तमै एभिन्यूज टिभीसँग अन्तर्वार्ता भएको हो, तर अहिलेसम्म तिरेको छैन’

काठमाडौं : निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा टेलिभिजन अन्तर्वार्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको विषयले चर्चा पाइरहँदा, सम्बन्धित उम्मेदवारले नै टेलिभिजनसँग ‘पैसा दिने सर्तमा’ अन्तर्वार्ता भएको खुलासा गरेका छन्।

राष्ट्रिय एकता दलका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका शम्भु प्रसाद देवले उकेरासँग कुरा गर्दै एभिन्यूज टेलिभिजनलाई पैसा तिर्ने प्रतिबद्धता जनाएपछि मात्रै आफ्नो अन्तर्वार्ता प्रसारण भएको बताएका हुन्।

‘एभिन्यूज टेलिभिजनसँग पैसा दिने कुरा भएपछि अन्तर्वार्ता भएको हो,’ उम्मेदवार देवले भने, ‘अहिले पैसा बुझाएको छैन तर बुझाउने भनेपछि बुझाउन त पर्यो। कमिटमेन्ट गरेपछि पूरा गर्नुपर्यो।’

हाल आफू काठमाडौं बाहिर रहेको बताउँदै उनले टेलिभिजनलाई पैसा बुझाएपछि मात्रै बिल प्राप्त हुने बताएका छन्।

निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणको फारममा उनले ‘बिल भर्पाइ निर्वाचन आयोगले मागेको बखत बुझाउने छु’ भनी हस्ताक्षर गरेका छन्।

यस विषयमा प्रस्ट पार्दै उनले उकेरासँग भने, ‘अहिले म काठमाडौं बाहिर छु। गएर पैसा बुझाएपछि बिल पाउँछु अनि आयोगलाई बुझाउँछु। खर्च हुने भएपछि खर्च विवरणमा त समेट्न पर्यो।’

१३५ मत, ५० हजारको अन्तर्वार्ता
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि ‘तुलसीको मठ’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका देवले उक्त निर्वाचनमा जम्मा १३५ मत मात्र प्राप्त गरेका थिए। 

तर, उनले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण (अनुसूची-४१) अनुसार उनको कुल खर्च १ लाख ५ सय रुपैयाँ छ, जसको आधा हिस्सा टेलिभिजन अन्तर्वार्तामै खर्च भएको देखाइएको छ। 

उनले बुझाएको विवरणमा एभिन्यूज टेलिभिजनमा अन्तर्वार्ताका लागि ५० हजार, १२ हजार थान पम्पलेट छपाइका लागि १० हजार ५ सय, मोटरसाइकल र सिटी रिक्साको इन्धनबापत ३० हजार र उम्मेदवारी दस्तुर १० हजार रुपैयाँ उल्लेख छ।

नियमविपरीत बैंकिङ प्रणाली बाहिरबाट कारोबार
निर्वाचन आयोगको आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोलेर बैंकिङ प्रणालीमार्फत मात्रै खर्च गर्नुपर्ने प्रावधान छ। 

तर, देवले भने बैंक खाता नै नखोली नगद कारोबार गरेको देखिएको छ। उनले आयोगलाई बुझाएको फारमको तल हस्तलिखित रूपमै ‘बैंक खाता नखोलेको’ भनी उल्लेख गरेका छन्। 

साधारणतया मूलधारका टेलिभिजनहरूले समाचारमूलक अन्तर्वार्ताका लागि अतिथिहरूसँग पैसा लिँदैनन्। तर, उम्मेदवार स्वयंले पैसा दिने सर्तमा अन्तर्वार्ता भएको दाबी गरेपछि यसले मिडियाको नैतिकता र निर्वाचन आचारसंहिताको पालनामाथि गम्भीर प्रश्न उब्जाएको छ।

यस विषयमा एभिन्यूज टेलिभिजनले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

चैत १२, २०८२ बिहीबार ०९:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।