न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रादेशिक अस्पताल लगातार तेस्रो पटक नेपालमै प्रथम
बुटवल : न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगातार तेस्रो पटक नेपालमै उत्कृष्ट हुन सफल भएको छ।
‘सेकेन्डरी बी’ लेभलका अस्पतालहरूको मूल्यांकनमा यस वर्ष ९० अंक प्राप्त गर्दै लुम्बिनी (भक्तपुर अस्पतालसँगै) प्रथम भएको हो। गत वर्ष यस अस्पतालले ८९ अंक पाएको थियो।
बुधबार आयोजित समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो नतिजालाई अंकमा मात्र नभई जनताले महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए।
उनले सरकारी अस्पतालप्रतिको नकारात्मक धारणा अन्त्य हुँदै गएको बताउँदै उत्कृष्टतालाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताए।
यस्तै, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्न आग्रह गर्दै प्रदेश सरकार आवश्यक पूर्वाधार र बजेट व्यवस्थापन गर्न तयार रहेको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्राप्त नतिजाबाट मात्रै सन्तुष्ट नभई थप सुधारका योजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार अस्पतालले हाल एमआरआई सेवा, गाइनोतर्फ छुट्टै अपरेसन थिएटर, डिजिटल पेमेन्ट, एसएमएसबाटै रिपोर्ट, २४सै घण्टा बिमा र फार्मेसी सेवा विस्तार गरेको छ।
त्यस्तै, फोहोर व्यवस्थापनलाई आधुनिकीकरण गरिएको छ भने आईभीएफ सेवा सञ्चालनका लागि अध्ययन भइरहेको छ।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेर सेवा प्रदान गरिरहेका छन्।
चैत १२, २०८२ बिहीबार ०९:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।