एभिन्यूज टिभीमा अन्तर्वार्ताको ५० हजार तिरेका शम्भुप्रसादको भोट जम्मा १३५ !

एभिन्यूज टिभीमा अन्तर्वार्ताको ५० हजार तिरेका शम्भुप्रसादको भोट जम्मा १३५ !

काठमाडौं : फागुन २१ गते सम्पन्न निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका एक व्यक्तिको निर्वाचन खर्च विवरणको अहिले सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्चा छ। चर्चाको मुख्य कारण हो- टेलिभिजनमा अन्तर्वार्ता दिएबापत ५० हजार रुपैयाँ खर्च देखाउनु।

राष्ट्रिय एकता दलका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका शम्भु प्रसाद देवले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणमा ‘एभिन्यूज टेलिभिजन’लाई अन्तर्वार्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको उल्लेख गरेका छन्।

‘तुलसीको मठ’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका देवले उक्त निर्वाचनमा जम्मा १३५ मत मात्र प्राप्त गरेका थिए।

सामान्यतया समाचारमूलक टेलिभिजन कार्यक्रम वा अन्तर्वार्तामा अतिथिसँग पैसा लिने गरिँदैन। सञ्चारमाध्यमले पैसा लिएर अन्तर्वार्ता वा समाचार प्रसारण गर्नुलाई पत्रकारिताको नैतिकताविपरीत मानिन्छ। तर, उम्मेदवार देवले भने पैसा दिने शर्तमै आफ्नो अन्तर्वार्ता भएको दाबी गरेका छन्।

उकेरासँगको कुराकानीमा उम्मेदवार देवले उक्त कुराको पुष्टि गर्दै भनेका छन्, ‘एभिन्यूज टेलिभिजनसँग पैसा दिने कुरा भएपछि अन्तर्वार्ता भएको हो। अहिले पैसा बुझाएको छैन तर बुझाउने भनेपछि बुझाउन त पर्यो। कमिटमेन्ट गरेपछि पूरा गर्नुपर्यो।’

हाल आफू काठमाडौं बाहिर रहेको बताउँदै उनले अगाडि भने, ‘गएर पैसा बुझाएपछि बिल पाउँछु अनि आयोगलाई बुझाउँछु।’

यस्तो छ देवको समग्र खर्च विवरण
निर्वाचन आयोगको ‘अनुसूची-४१’ अनुसार देवले बुझाएको विवरणमा उनको कुल निर्वाचन खर्च १ लाख ५ सय रुपैयाँ मात्र देखिएको छ। जसमा सबैभन्दा ठूलो हिस्सा टेलिभिजन अन्तर्वार्ताकै छ। उनले फारममा उल्लेख गरेका खर्चका शीर्षकहरू यसप्रकार छन्:

१. टेलिभिजनमा अन्तर्वार्ता (Avenues): रु. ५०,०००।–
२. पम्पलेट छपाइ (१२ हजार थान): रु. १०,५००।–
३. मोटरसाइकल, सिटी रिक्सा इन्धन (पटक-पटक): रु. ३०,०००।–
४. उम्मेदवारी दस्तुर: रु. १०,०००।–

बैंक खाता नै नखोली कारोबार
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेर बैंकिङ प्रणालीमार्फत खर्च गर्नुपर्ने प्रावधान छ।

तर, देवले बुझाएको फारमको तल हस्तलिखित रूपमा ‘बैंक खाता नखोलेको’ भनी स्पष्ट लेखिएको छ। साथै, उनले ‘बिल भर्पाइ निर्वाचन आयोगले मागेको बखत बुझाउने छु’ भन्दै हस्ताक्षर गरेका छन्।

यस विषयमा एभिन्यूज टेलिभिजनले भने हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

चैत १२, २०८२ बिहीबार ०८:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।