संसद् र सिंहदरबार जलाउने 'नचिने' पनि आयोगले हिल्टन जलाउने कारण 'चिन्यो', प्रतिवेदनमा पत्रकार दिलभुषणको नामै किटियो
काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारक र कारण पहिल्याउन सरकारले गठन गरेको गौरीबहादुर कार्कीको प्रतिवेदनमा संसद् भवन, सिंहदरबारदेखि सर्वोच्च अदालत कसले जलायो भन्ने किटान गरिएको छैन।
भदौ २३ को घटनालाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर आन्दोलनकारी पक्षबाट 'शान्तिपूर्ण प्रदर्शनको मर्यादा उल्लङ्घन भएको" निष्कर्ष निकालेको छ। आयोगले भदौ २४ गतेको घटनालाई विध्वंसात्मक र योजनाबद्ध भने पनि दोषी किटान गरेको छैन।
भदौ २४ को प्रदर्शनकोक्रममा एक समूहले काठमाडौँमा रहेको हिलटन होटलमा आगजनी गरेको थियो। होटल हायात लुटिएको थियो।
हिलटन होटल जल्नुको कारण भन्दै कार्की आयोगको प्रतिवेदनमा पत्रकारको नामै किटिएको छ। प्रतिवेदनमा सञ्चार माध्यमहरूबारे उल्लेख गरिएको विवरणमा पत्रकार दिलभूषण पाठकले केही समय अघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयवीर सिंह देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको भनेर नामै किटान गरिएको छ।
हिल्टन होटल जल्दा यसले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गएर ठूलो क्षति हुन पुगेको समेत उल्लेख गरिएको छ। दिलभुषण पाठकले हिल्टन होटलमा कसको लगानी छ भन्ने बारेमा एक भिडियो रिपोर्ट बनाएर आफ्नो युट्युब च्यानलबाट प्रसारण गर्दा उनी विरुद्ध साइबर मुद्दामा जाहेरीसम्म परेको थियो।
भदौ २३ र २४ को आन्दोलनमा भएको बल प्रयोग र ध्वंसको कारक र कारण पहिल्याएर दोषीमाथि कार्वाही र भविष्यमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे सुझाव दिने कार्यक्षेत्र तोकिएको आयोगको प्रतिवेदनमा सबै नागरिकको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक गर्नुपर्ने देखि लिएर हुलाक सेवाको सुधार कसरी गर्ने भन्ने तहसम्मका सुझावहरू रहेका छन्।
चैत ११, २०८२ बुधबार २१:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।