कारागारको पत्र अगाडि नै नख्खुबाट बाहिर निस्किएको रविले स्विकारे, कारागार प्रशासनले भिडको जिम्मा लगाएको दाबी
काठमाडौँ : भदौ २४ गते नख्खु कारागारबाट बाहिर निस्कँदा निकै आलोचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जेलबाट निस्कन नचाहेको तर प्रशासनको आग्रह र भीडको दबाबका कारण बाहिर निस्कनु परेको दाबी गरेका छन्।
जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमा उनले दिएको बयानमा प्रहरी आत्तिएको र भिडले आफूलाई धकेल्दै बाहिर पूर्याएको दाबी गरेका छन्।
उनले अदालतको आदेश नभई कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको र कारागार प्रशासनले भिडलाई सम्झाउन आग्रह गरेपछि कारागार प्राङ्गणमै रहेर भिडलाई सम्बोधन गर्न तयार भए पनि भिडले नै आफूलाई कारागार बाहिर ल्याएको दाबी गरेका छन्।
यस अगाडि रविले आफूलाई कारागारले पत्र दिएपछि कारागारबाट बाहिर निस्किएको दाबी गर्दै आएका थिए। तर आयोगको बयानमा भने कारागार प्रशासनले पत्र दिनु अगाडि नै आफू कारागार बाहिर रहेको दाबी गरेका छन्।
“कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे। पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन। वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा-नचाहँदै जबरजस्ती बाहिर पठाइयो” आयोगको प्रतिवेदनमा संलग्न रविको बयानमा उल्लेख छ।
उनले बयानमा भदौ २४ को घटनामा आफू र आफू संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी दुवै संलग्नता अस्वीकार गरेका छन्।
कार्की आयोगले फागुन २४ मा सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले भने अहिलेसम्म सार्वजनिक गरेको छैन। सो प्रतिवेदनको मुख्य अंशहरू बुधवार सबैभन्दा पहिला जनआस्थाले सार्वजनिक गरेको थियो।
प्रतिवेदनमा संलग्न रविको बयानको संक्षिप्त अंश
२०८२ भाद्र २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो। तर भदौ २४ गते करिब दिउँसो १२:३० बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाई सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाई बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराए। मैले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेँ।
तथापि, जेल प्रशासनले भीडलाई म आफैले सम्झाउन सक्ने भन्दै पटक पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनेँ।
प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्यायो। त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ। कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे। पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन। वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा-नचाहँदै जबर्जस्ती बाहिर पठाइयो।
भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र "राष्ट्रिय स्वतन्त्र पार्टी" ले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको कुरामा स्पष्ट छौँ।
कार्की आयोग प्रतिवेदन
चैत ११, २०८२ बुधबार १७:३२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।