कठिन परिस्थितिमा पनि निष्पक्ष रूपमा निर्वाचन गराउन सरकार सफल भयो: प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको बताएकी छन्।
बुधबार निर्वाचन आयोगमा भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले चुनौतीपूर्ण समयमा पनि शान्तिपूर्ण मतदान गराउन सफल भएको बताएकी हुन्।
उनले गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछिको असहज परिस्थितिलाई स्मरण गर्दै, त्यस्तो असामान्य अवस्थालाई सामान्य तुल्याएर तोकिएकै समयमा निष्पक्ष निर्वाचन गराउनु सरकारको ठुलो सफलता भएको बताइन्।
"जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो।", कार्कीले भनिन् "निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ।"
मतदाताले सुशासन र समृद्धिको पक्षमा आफ्नो स्पष्ट मत दिएको र यसले संवैधानिक प्रणालीलाई थप मजबुत बनाएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता लगाएको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफल बनाएको बताइन्।
चैत ११, २०८२ बुधबार १६:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।