ड्रोन-मिसाइल आक्रमणका बाबजुद खाडी देशहरूले इरानमाथि किन गरेनन् प्रत्याक्रमण? यी हुन् कारण
एजेन्सी : अमेरिका र इजरायलसँगको युद्धको एउटा हिस्साका रूपमा इरानले खाडी क्षेत्रभरि मिसाइल आक्रमण जारी राखेको छ।
जब इजरायलले इरानको ‘साउथ पार्स’मा आक्रमण गर्यो, त्यसको जवाफमा इरानले बिहीबार कतारको ‘रास लाफान’ ऊर्जा केन्द्रमा हमला गर्यो। यी दुवै केन्द्र विश्वकै सबैभन्दा ठूला प्राकृतिक ग्यास क्षेत्रका हिस्सा हुन्।
अहिलेसम्म कतार र अन्य खाडी देशहरूले बारम्बार निशानामा पर्दा पनि इरानविरुद्ध कुनै जवाफी कारबाही गरेका छैनन्। उनीहरू किन आक्रमणबाट बचिरहेका छन् र कुन कुराले उनीहरूलाई कारबाही गर्न बाध्य पार्न सक्छ?
जोखिम धेरै, फाइदा कम
जब अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरू गरे, तब तेहरानले (इरानले) ढिलाइ नगरी इजरायलमाथि मात्र नभई अमेरिकाका सहयोगी खाडी देशहरूमा अमेरिकी सैन्य आधारहरूमा आक्रमण गर्यो।
बहराइन, कुवेत, साउदी अरब, कतार, ओमान र विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) लाई निशाना बनाइयो।
खाडी क्षेत्रका अधिकारीहरूका अनुसार, यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूका साथै इरानले नागरिक संरचनाहरूमा पनि आक्रमण गरेको छ, जसमा विमानस्थल, होटल, आवासीय क्षेत्र र विशेषगरी ऊर्जा केन्द्रहरू समावेश छन्।
यति हुँदाहुँदै पनि हालसम्म खाडी देशहरूले आफैँ इरानविरुद्ध कुनै आक्रमण गरेका छैनन् र उनीहरू सीधै युद्धमा सामेल हुनबाट बचिरहेका छन्।
अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर इन्टरनेसनल पोलिसी’का विज्ञ सिना तुसीका अनुसार, उनीहरूको दृष्टिकोणमा यो उनीहरूको युद्ध होइन। जवाफी कारबाहीले उनीहरूलाई कमजोर दर्शकबाट ठूलो निशानामा परिणत गर्न सक्छ, किनकि उनीहरूसँग पाउनुभन्दा गुमाउने कुरा धेरै छन्।
उनका अनुसार, पछि हट्ने यो निर्णय जोखिम, रणनीतिक सोच र सीमित फाइदाको मिश्रित भावनाबाट आएको हो।

खाडी देशहरूको अर्थतन्त्र ऊर्जा पूर्वाधार, पानीजहाज (सिपिङ) र लगानीकर्ताहरूको विश्वासमा निर्भर छ। इरानले यी सबैलाई अवरुद्ध गर्न सकिन्छ भनेर देखाइसकेको छ। विशेषगरी इरानले फारसको खाडी र होर्मुज जलडमरुको प्रयोग गरिरहेको छ, जुन विश्वव्यापी अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग हो।
यद्यपि, ‘ट्रेन्ड्स रिसर्च एन्ड एडभाइजरी’ का प्रबन्ध निर्देशक तथा पूर्व पेन्टागन अधिकारी बिलाल साब भन्छन्, ‘यदि खाडी देशहरूले इरानमाथि आक्रमण गर्दैनन् भने, उनीहरूले तेहरानलाई विना कुनै परिणाम भारी नोक्सान पुर्याउन सक्छ भन्ने संकेत दिइरहेका छन्।’
उनको विचारमा जवाफी आक्रमणको उद्देश्य छोटो समयमा इरानलाई आक्रमण रोक्न बाध्य पार्नु र दीर्घकालमा भविष्यका इरानी आक्रमणहरूविरुद्ध डर पैदा गर्नु हुनेछ। तर खाडी देशहरूको आक्रमणले युद्धलाई कति प्रभाव पार्छ भन्ने स्पष्ट नभएकाले यसको जोखिम ‘निकै ठूलो’ हुने पनि उनी थप्छन्।
किङ्स कलेज लन्डनका सुरक्षाविज्ञ रोब गीस्ट पिनफोल्डका अनुसार, खाडी देशहरूलाई आफूलाई इजरायलसँग जोड्ने विषयमा पनि हिचकिचाहट छ। उनी भन्छन्, ‘इजरायलले अमेरिकालाई यो युद्धमा तानेको हो भन्ने उनीहरूको बुझाइ छ।’
‘सन् २००३ को झझल्को’
पिनफोल्डका अनुसार, धेरै खाडी नेताहरूलाई इराकमाथि अमेरिकाको नेतृत्वमा भएको युद्धको प्रभावले आज पनि झस्काउने गर्छ।
सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गर्यो र छिट्टै सद्दाम हुसेनको सरकारलाई हटायो। तर त्यसपछि शक्तिको यस्तो शून्यता पैदा भयो, जसले विद्रोह, साम्प्रदायिक हिंसा र लामो समयसम्म अस्थिरता निम्त्यायो।
पिनफोल्ड भन्छन्, ‘सन् २००३ को छाँया अझै पनि छ। यसले अराजकता र अस्थिरताको ढोका खोल्छ र इरानलाई आफ्नो प्रभाव बढाउने मौका मिल्छ भन्ने डर उनीहरूलाई थियो र त्यो धेरै हदसम्म सही पनि साबित भयो।’
अब खाडी देशहरूलाई अमेरिकाले स्पष्ट लक्ष्यविना नै खुला अभियान चलाइरहेको छ र पछि यस क्षेत्रलाई ‘समस्याहरूको भुमरीमा’ छोडेर जानेछ भन्ने डर छ।
यद्यपि अमेरिका र इजरायलको यो युद्धलाई लिएर खाडी देशहरूमा असन्तुष्टि छ, तैपनि उनीहरू अमेरिकी सैन्य सुरक्षामा धेरै निर्भर छन्।
उनीहरूले अमेरिकी सैन्य अखडा र सैनिकहरूलाई ठाउँ दिएका छन्, जासुसी सूचना आदानप्रदान गर्छन् र अमेरिकी वायु रक्षा (एयर डिफेन्स) प्रणालीमा धेरै निर्भर छन्। अधिकारीहरूका अनुसार, यी प्रणालीले इरानका धेरैजसो मिसाइललाई रोकेका छन्।
अमेरिकाले इरानको आणविक हतियार बनाउने क्षमता नष्ट गर्नेदेखि लिएर सत्ता परिवर्तनसम्मका लक्ष्य राखे पनि खाडी नेताहरू भने आक्रमण रोक्ने एकमात्र बाटो सम्झौता र कूटनीति मात्रै हो भन्ने मान्छन्।
विभाजित क्षेत्रीय समीकरण
पिनफोल्डका अनुसार, इरानले सबै खाडी देशहरूलाई एउटै गतिमा निशाना बनाएको छैन।
संयुक्त अरब इमिरेट्स (यूएई) यो युद्धमा सबैभन्दा धेरै आक्रमण खेप्ने देशहरूमध्ये एक हो। सन् २०२० मा यूएई र बहराइनले इजरायलसँगको सम्बन्ध सामान्य बनाएका थिए।
यसको उल्टो ओमान, जसले इरान र पश्चिमा देशहरूबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ, उसलाई कम निशाना बनाइएको छ। ओमान एकमात्र खाडी देश थियो जसले इरानका नयाँ सर्वोच्च नेतालाई बधाई दिएको थियो, जुन अन्य खाडी देशहरूलाई मन परेको थिएन।

दुबई पब्लिक पोलिसी रिसर्च सेन्टरका महानिर्देशक मोहम्मद बहारुन भन्छन्, ‘इरानले खाडी देशहरूमाथि आक्रमण गरेर उनीहरूलाई दुश्मन बनाइरहेको छ र एउटा ठूलो युद्धको खतरा बढाइरहेको छ, जुन कसैले चाहेको छैन।’
गत साता बुधबार साउदी अरबमा भएको खाडी देशका विदेशमन्त्रीहरूको बैठकपछि, अरब देशहरूले संयुक्त राष्ट्र संघको धारा ५१ अन्तर्गत आफ्नो आत्मरक्षाको अधिकारमा जोड दिएका छन्।
जवाफी कारबाहीको कारण के बन्न सक्छ?
बेलायतको थिंक ट्याङ्क आरयूएसआईका डा. एचए हेलियर भन्छन्, ‘विशेषगरी यदि ऊर्जा निर्यातमाथि आक्रमण जारी रह्यो वा बढ्यो भने राजनीतिक गणित द्रुत रूपमा परिवर्तन हुन सक्छ। हाल खाडी देशहरू जवाफी कारबाहीबाट बचिरहेका छन्।’
गत हप्ता बिहीबार कतारको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि इरानले आफ्ना केन्द्रहरूमा आक्रमण जारी रहे अमेरिकाका खाडी सहयोगीहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने चेतावनी दिएको छ।
इरानका क्षेत्रीय सहयोगीहरूको रूपमा रहेका हुथी विद्रोहीहरूले सीधै खाडी देशहरूमा निशाना बनाए मात्र प्रत्याक्रमण नगर्ने उनीहरूको अडानमा परिवर्तन आउनसक्ने देखिन्छ। यस्तो अवस्थामा खाडी देशहरूले यस द्वन्द्वलाई अमेरिका र इजरायलको मात्र नभई आफ्नै पनि मान्न सक्छन्।
जुनसुकै अवस्थामा, अहिलेसम्म खाडी देशहरूले जवाफी कारबाही नगरे पनि इरानको रणनीति ‘अत्यन्तै जोखिमपूर्ण’ मानिएको छ।
नागरिक क्षेत्रहरू निशानामा परेपछि खाडी देशहरूले अनन्त कालसम्म आक्रमण सहेर नबस्ने हेलियर बताउँछन्। खाडी देशहरूमाथि दबाब दिने इरानको रणनीति उल्टो पर्नसक्छ उनको बुझाइ छ।
उनले भने, ‘सुरुमा खाडी देशहरूले अमेरिका-इजरायल युद्धको विरोध गरे पनि, अब उनीहरूको आफ्नै सुरक्षा खतरामा छ र तत्काल खतरालाई हटाउन अमेरिकालाई साथ दिनु नै बढी उचित हुने भन्ने निर्णयमा पुग्न सक्छन्।’
चैत ११, २०८२ बुधबार ०९:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।