कतिमा बिक्यो आरसीबी?

कतिमा बिक्यो आरसीबी?

एजेन्सी : आदित्य बिडला ग्रुप (एबीजी) को नेतृत्वमा रहेको एक कन्सोर्टियम (कम्पनीहरूको समूह) ले मंगलबार आईपीएल फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खरिद गरेको छ।

यसका लागि कन्सोर्टियमले युनाइटेड स्पिरिट्स लिमिटेडसँग १.७८ अर्ब डलरमा सम्झौता गरेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार, यस समूहमा आदित्य बिडला ग्रुपबाहेक ब्ल्याकस्टोनको पर्पेचुअल प्राइभेट इक्विटी स्ट्राटेजी (बीएक्सपीई), बोल्ट भेन्चर्स र मिडिया समूह ‘टाइम्स अफ इन्डिया’ समावेश छन्।

बीएक्सपीईका सीईओ विरल पटेल हुन् भने बोल्ट भेन्चर्स अमेरिकी लगानीकर्ता डेभिड ब्लिट्जरको कम्पनी हो।

युनाइटेड स्पिरिट्स लिमिटेडले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आफ्नो सञ्चालक समितिको बैठकपछि कम्पनीले आज यो घोषणा गरेको छ कि उसले आफ्नो पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडको १०० प्रतिशत हिस्सेदारी बेच्नका लागि एक कन्सोर्टियमसँग अन्तिम सम्झौता गरेको छ।’

आरसीबीको यस सम्झौताबाहेक अघिल्लो दिन आईपीएलको अर्को फ्रेन्चाइजी राजस्थान रोयल्सको बिक्रीसँग जोडिएको खबर पनि बाहिर आएको थियो।

आरसीबीको सम्झौताबारे क्रिकेट कमेन्टेटर हर्षा भोगलेले भने, ‘यो रकम राजस्थान रोयल्सले पाएको रकमभन्दा धेरै बढी त होइन, तर यो एउटा फरक किसिमको इकोसिस्टम हो, जहाँ कुनै फ्रेन्चाइजीको आम्दानी र खर्च लगभग बराबर हुन्छ। त्यसैले केही घण्टाभित्रै आईपीएलमा ३.४ अर्ब डलरको सम्झौता भएको छ।’

चैत ११, २०८२ बुधबार ०८:५३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।