अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘रसियन फिल्म डेज’, पाँचवटा रुसी चलचित्र प्रदर्शन हुने

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘रसियन फिल्म डेज’, पाँचवटा रुसी चलचित्र प्रदर्शन हुने

काठमाडौं : नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू प्रदर्शन गरिने भएका छन्। चैत १९ देखि २३ सम्म सञ्चालन हुने फिल्म महोत्सवमा फिल्म ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र  ‘अल रङ गर्ल’ स्क्रिनिङ गरिन भएको हो। 

यसमध्ये ‘अगष्ट’ ऐतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म हुन्। जुन दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारितमा छ। उक्त फिल्ममा शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्ष नै फिल्मको मुख्य विषय हो। फिल्मलाई इल्या लेबेदेव र निकिता वैसोत्स्कीले संयुक्त रूपमा निर्देशन गरेका छन्।

निफका अध्यक्ष केपी पाठकले ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको बताए। उनका अनुसार निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा रसियन चार फिल्म प्रदर्शन गरिने छ।

नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा  ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए। साथै रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर हुने उनको भनाई छ।

उनले भनेका छन्, "नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन्।" निफको अन्तर्राष्ट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ। अध्यक्ष पाठकका अनुसार यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा प्रदर्शन गरिने छ। 

निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछ। यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ।

साथै यो महोत्सवमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा उपस्थित रहने छन्। निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले केही दिनअघि नै जानकारी दिइसकेका छन्।

चैत १०, २०८२ मंगलबार १७:५८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।