सम्झौताको तीन वर्ष बित्दा पनि हरिचौर–मल्म–पाण्डवखानी सडक अलपत्र, ठेकेदारको लापरबाहीले स्थानीयलाई सास्ती
बागलुङ : दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण कार्य तीन वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।
'एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक' अन्तर्गतको यो आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ।
उक्त सडक २०७९ सालको भदौमा सम्झौता भएको थियो। सम्झौता अनुसार काम गरेको भएमा २०८१ सालको भदौमा हस्तान्तरण भइसक्नुपर्ने थियो। आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गरे पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिए। सडक निर्माणको जिम्मा वल्र्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो। स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन गरेका थिए।
सुरुमा भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीले काम गर्न आनाकानी गरेको थियो। २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने सम्झौता भएको थियो।
उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिन सहज हुने छ।
चैत १०, २०८२ मंगलबार १५:०५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।