आठ वर्ष पुरानो कीर्तिमान तोड्दै पुलिसले बनायो प्रधानमन्त्री कपको सर्वाधिक रन
काठमाडौं : जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले नयाँ इतिहास रचेको छ।
मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको प्रतियोगिताको आठौं खेलमा विभागीय प्रतिस्पर्धी एपीएफ क्लबविरुद्ध ३५५ रनको विशाल योगफल तयार पार्दै पुलिसले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो स्कोरको कीर्तिमान कायम गरेको हो।
रोचक कुरा के छ भने, पुलिसले एपीएफकै आठ वर्ष पुरानो कीर्तिमान एपीएफविरुद्ध नै मैदानमा उत्रिएर तोडेको हो। यसअघि प्रधानमन्त्री कपको एकै इनिङ्समा सर्वाधिक रनको कीर्तिमान एपीएफ क्लबकै नाममा थियो।
सन् २०१८ जुन ४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेश (तत्कालीन प्रदेश २) विरुद्ध एपीएफले ६ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो, जसमा प्रदीप ऐरीले १५८ रनको ऐतिहासिक इनिङ्स खेलेका थिए। तर आज पुलिसले ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएर उक्त रेकर्डलाई पछि छाडेको छ।
चार ब्याटरको अर्धशतक
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबलाई विशाल योगफलसम्म पुर्याउन चार जना ब्याटरले अर्धशतकीय इनिङ्स खेले।
ओपनर कुशल भुर्तेल खेलको पहिलो ओभरमै व्यक्तिगत ४ रनमा कमल ऐरीको बलमा आउट भए पनि त्यसपछि आएका ब्याटरहरूले उत्कृष्ट साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
पुलिसका लागि शंकर रानाले ५४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए। त्यस्तै, दिनेश खरेलले ५२ बलमा ६० रन (६ चौका, ४ छक्का), कप्तान आरिफ शेखले ४२ बलमा ५० रन (५ चौका, २ छक्का) प्रहार गरे।
अन्तिम ओभरतिर निकै आक्रामक ब्याटिङ गरेका विकेटकिपर दिलसाद अलीले मात्र ३० बलमा अविजित ५१ रन बनाए। १७० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले आफ्नो इनिङ्समा ५ चौका र ३ छक्का प्रहार गरे।
यसबाहेक रसिद खानले ४४ रन (४२ बल) र अमित श्रेष्ठले ३९ रन (३९ बल) को महत्त्वपूर्ण योगदान दिए।
एपीएफका बलर महँगा सावित
पुलिसका ब्याटरहरूको आक्रामक शैलीसामु एपीएफका बलरहरू निकै महँगा सावित भए।
एपीएफका लागि कमल ऐरी र अमर रौटेलाले समान २-२ विकेट लिए। कमलले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चे भने अमरले ५ ओभरमा ४३ रन दिए।
त्यस्तै, नन्दन यादवले १० ओभरमा ७६ रन खर्चेर १ विकेट लिए भने कप्तान रोहित पौडेल र युवराज खत्रीको नाममा पनि १-१ विकेट रह्यो। अविशेक गौतमले ७ ओभरमा ७१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन्।
यस कीर्तिमानी इनिङ्ससँगै नेपाल पुलिस क्लबले खेल जित्नका लागि एपीएफसामु ३५६ रनको विशाल र चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
चैत १०, २०८२ मंगलबार १३:०२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।