मोरङमा क्षयरोगबाट मृ्त्यु हुनेको संख्या बढ्यो, एक वर्षमा ३५ जनाको मृत्यु

मोरङमा क्षयरोगबाट मृ्त्यु हुनेको संख्या बढ्यो, एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ : जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ।

विश्व क्षयरोग दिवसका पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

उनका अनुसार आव २०८०/८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो।

जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए।

मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन्। सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छाैं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदैछ।

यस अवसरमा मंगलबार मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउन प्रभातफेरीले टङ्कीसिनवारी नगरक्षेत्र परिक्रमा गरी कोणसभा गरिने कार्यतालिका छ।

चैत १०, २०८२ मंगलबार ०८:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।