रविविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीको आरोपमा पक्राउ
काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जिबी राईविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।
पोखराको धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उनलाई पक्राउ गरेको हो।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई बुझाएको छानबिन प्रतिवेदनअनुसार जैसीले धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ।
धनुष सहकारीमा कुल १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको निष्कर्षसहित रजिस्ट्रार कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेपछि जैसीसहित अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका तर्फबाट आन्दोलन र कानुनी प्रक्रियाको नेतृत्वकर्तामध्ये एक जैसीकै जाहेरीका आधारमा रवि लामिछाने पक्राउ परेका थिए। उनीपछि धरौटीमा रिहा भएका थिए। उक्त मुद्दा अदालतमा विचाराधीन छ। प्रहरीले जैसीलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।
चैत ९, २०८२ सोमबार २१:५३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।