एयर क्यानडाको विमान दुर्घटना: दुई पाइलटको मृत्यु, विमानस्थल बन्द
एजेन्सी : अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणको क्रममा रहेको एयर क्यानडाको विमान धावनमार्गमा गुडिरहेको दमकलसँग ठोक्किएको छ। आइतबार राति भएको यस घटनामा विमानका चालक र सह-चालकको मृत्यु भएको पुष्टि भएको छ।
क्यानडाको मोन्ट्रियलबाट ७२ यात्रु र चार चालक दलका सदस्य लिएर आएको एयर क्यानडाको 'सीआरजे ९००' मोडलको विमान आइतबार राति करिब ११:४० बजे धावनमार्गमा दमकलसँग ठोक्किएको थियो। विमान अवतरण गरेर करिब २४ माइल प्रति घण्टाको गतिमा गुडिरहेका बेला आपतकालीन घटनाका लागि जाँदै गरेको पोर्ट अथोरिटीको दमकलसँग ठोक्किएको हो।
न्युयोर्क र न्युजर्सीको 'पोर्ट अथोरिटी' की कार्यकारी निर्देशक क्याथरिन गार्सियाले दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ। विमानमा सवार ४१ जनालाई उपचारका लागि अस्पताल लगिएको थियो, जसमध्ये ३२ जना उपचारपछि घर फर्किसकेका छन् भने केहीको अवस्था अझै गम्भीर छ। दमकलमा सवार दुई अधिकारीहरूको अवस्था भने स्थिर रहेको छ।
दुर्घटनापछि विमानको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस दुर्घटनापछि अमेरिकाको व्यस्त विमानस्थलमध्येको एक, ला गार्डिया विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। विमानस्थल स्थानीय समय अनुसार सोमबार दिउँसो २ सम्म बन्द रहने बताइएको छ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेका छन्।
चैत ९, २०८२ सोमबार १६:५२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।