डोल्पामा ३५ क्विन्टल अवैध जडीबुटीसहित चार जना पक्राउ

डोल्पामा ३५ क्विन्टल अवैध जडीबुटीसहित चार जना पक्राउ

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ।

नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३:३० बजे त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो।

श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले उक्त कारबाही गरेको जनाइएको छ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी-५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका-४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका-७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी-५ का ३३ वर्षीय विकास रोकाया छन्। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको श्री सङ्ग्राम शार्दूल गुल्मका सेनानी हरिश शाहीले बताए। 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी सङ्कलन गरेको र जिल्ला बाहिर पठाउन लागेको अवस्थामा बरामद गरिएको हो।

पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) सङ्कलनमा प्रतिबन्ध लगाइएको र पदमचालको हकमा समेत कार्ययोजना अध्ययनपछि मात्र उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको उनले जानकारी दिए। 

चैत ९, २०८२ सोमबार १२:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।