इरानका पावर प्लान्टमा आक्रमण भए स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गर्ने इरानको चेतावनी

इरानका पावर प्लान्टमा आक्रमण भए स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गर्ने इरानको चेतावनी

एजेन्सी : इरानले आफ्ना ऊर्जा र पानीका पूर्वाधारहरूमा आक्रमण भएमा विश्वकै महत्त्वपूर्ण तेल ढुवानीको जलमार्ग स्ट्रेट अफ होर्मुज  पूर्ण रूपमा बन्द गरिदिने र क्षेत्रीय ऊर्जा केन्द्रहरूमा पनि जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ।

इरानी मिडियामा दिइएको बयानमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे इरानका ऊर्जा संरचना नष्ट गरिने चेतावनी दिएका थिए।

विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक रहेको स्ट्रेट अफ होर्मुजबाट करिब २० प्रतिशत विश्वको तेल आपूर्ति हुन्छ। यस क्षेत्रमा अवरोध आएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिन थालेको छ।

स्ट्रेट अफ होर्मुज बन्द हुने डरले विश्वभर इन्धन आपूर्तिमा समस्या आउन सक्ने भन्दै अष्ट्रेलिया र सिङ्गापुरले ऊर्जा सुरक्षाका लागि नयाँ सम्झौता गरेका छन्।

चैत ९, २०८२ सोमबार ११:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।